सहिद फैजान अहमदको हत्यारा पक्राउ गर्न माग राखी चक्काजाम

सहिद फैजान अहमदको हत्यारा पक्राउ गर्न माग राखी चक्काजाम

विराटनगर, २७ असोज । सहिद फैजान अहमदको हत्यारा पत्ता नलागेको विरोधमा फैजान संघर्ष समिति मोरङले शुक्रबार मोरङका ६ स्थानमा डेढ घण्टा चक्काजाम गरेको छ ।
इस्लामिक संघका महासचिव फैजान अहमदको हत्या भएको दुई हप्ता बितिसक्दा पनि हत्यारा पत्ता नलगाएको र क्षतिपूर्तिसमेत नदिएकामा समितिले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत उक्त चक्काजाम गरिएको हो । फैजानको हत्यारा पत्ता लगाउन र मृतक परिवारलाई राहत दिन सरकार गम्भीर नभएको भन्दै गठित संघर्ष समितिले शुक्रबार विराटनगरको शनिमन्दिर चौकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको कोणसभा आयोजना गरेको थियो ।
कोणसभामा नेपाली कांग्रेसको महासचिव भीम पराजुलीले फैजान हत्याकाण्डको अनुसन्धानमा सरकारले पूर्ण रूपमा आफ्नो भूमिका निर्वाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने “नेपालको इतिहासमा धार्मिक सहिष्णुता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने मुस्लिम समुदायलाई बेवास्ता गरिएको छ, अब मुस्लिमहरूले अधिकार मागेर नपाए खोस्न जान्नुपर्छ ।” कोणसभामा नेकपा एमालेका बाबुराम कार्की, विद्यार्थी नेता वसिम आलम, जफर अहमद जमाली, तबरेज अख्तरलगायतले मन्तव्य राखेका थिए । कोणसभा तथा चक्काजाम समापन मन्तव्य राख्दै संघर्ष समितिका संयोजक साहाव अहमद (गुड्डु)ले संसारले मुस्लिमहरूको शक्ति देखिसकेकाले सरकारले मुस्लिमहरूको धैर्यताको परीक्षा नलिन चेतावनी दिए । उनले एक फैजानको रगतबाट हजारौं फैजान जन्मने बताउँदै सबै फैजानलाई गोली हानेर देखाउन लुकेर बसेका अपराधीलाई चेतावनी दिए ।
विराटगरको शनि मन्दिर र रानीसँगै समितिले मोरङको नेमुवा, कर्सिया, डायनिया, विराटचौकमा समेत चक्काजाम गरेको थियो । समितिले सार्वजनिक गरेको आगामी कार्यक्रमअन्तर्गत कात्तिक २ गते जिल्ला प्रशासन कार्यालय घेराउसहित कोणसभा गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्