दुई दर्जन संस्थाद्वारा मोरङका वहुचर्चित एसपी कार्की सम्मानित : एसपी पुरिए मालाले

दुई दर्जन संस्थाद्वारा मोरङका वहुचर्चित एसपी कार्की सम्मानित : एसपी पुरिए मालाले

विराटनगर, २७ असोज । मोरङ प्रहरी प्रमुखको कार्यभार सम्हालेको छोटो अवधिमै जिल्लाको शान्ति सुरक्षामा आमुल परिवर्तन गरेको भन्दै मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीलाई विराटनगरका विभिन्न दुई दर्जन संघसंस्थाले सम्मान गरेका छन् ।
विराटनगरस्थित पुष्पलाल चोकमा पञ्चेश्वर शिव मन्दिर समितिले शुक्रबारदेखि आह्वान गरेको श्रीमद भागवत महापुराणको उद्घाटन समारोहमा एसपी कार्कीलाई विराटनगरमा क्रियाशील विभिन्न २४ वटा संस्थाहरूले संयुक्त रूपमा सम्मान गरेका हुन् । एसपी कार्की सरुवा भएर आएको चार महिनाभित्रै मोरङको गुण्डागर्दी, चन्दाआतंक, तस्करी, अवैध कारोबार, जुवातास तथा जनताको जिउधनको सुरक्षाका लागि निष्पक्ष रूपमा काम गरेकाले स्वतस्फुर्त सम्मान गरिएको आयोजकले जनाएको छ ।
२४ वटा संस्थाका प्रतिनिधिहरूले पालैपालो दोसल्ला, माला र उपहार प्रदान गरेर सम्मान गर्दा एसपी कार्की मालाले छोपिएका थिए । कार्कीका सहयोगीलाई माला र उपहार सम्हाल्न धौधौ परेको थियो । सम्मानपछि कार्कीले जिल्लावासीको सहयोग र सद्भावले नै शान्ति सुरक्षा बलियो बनाउन आफू सक्षम भएको बताए । प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न असम्भव भएको औंल्याउँदै उनले जनता र प्रहरीबीचको दुरी नजिक भएमात्रै समाजमा दण्डहीनता अन्त्य भई शान्ति सुरक्षा स्थापित हुने चर्चा गरे ।
सो अवसरमा सभासद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले जिल्लावासीले राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गर्ने परम्परा बसाएको बताए । कार्कीको सम्मान विराटनगरवासीले मात्रै नभएर मोरङ जिल्लावासीले गरेको दाबी गरे । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी, सुरेश अधिकारी, नेपाली कांग्रेस मोरङका सचिव बाबुराजा ओझा, नगर सभापति भीम पराजुली, पत्रकार महासंघ मोरङका सभापति विक्रम निरौला, एमाले मोरङ अध्यक्ष विनोद ढकाल, ब्रम्हाकुमारी राजयोगकी रमा बहन, सनातन धर्म सेवा समितिका शिवदत्त भट्टराई, पाथिभरा माता, आयोजक समितिका अध्यक्ष गोपाल कटुवाल, सचिव कैलाश रेग्मी, कोषाध्यक्ष खम्बसिंह बस्नेतलगायतले एसपी कार्कीले समाजमा फैलिँदै गएको दण्डहीनता अन्त्य गरी सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनीहरूले कार्कीको आगामी दिनको सफलताको कामनासमेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्