विराटनगरमा ३१औ विश्व खाद्य दिवस मनाइयो

विराटनगरमा ३१औ विश्व खाद्य दिवस मनाइयो

विराटनगर, २९ असोज । ‘मूल्यमा स्थिरता, खाद्य सुरक्षाको सुनिश्चितता’ भन्ने मुल नाराका साथ विराटनगरमा आइतबार ३१ औं विश्व खाद्य दिवस मनाइएको छ ।
जिल्ला विश्व खाद्य दिवस समिति मोरङको आयोजनामा विराटनगरमा याली तथा अन्तरक्रिया कार्यक्रम गरी सो दिवस मनाइएको हो । समितिले बिहान निकालेको कृषक तथा कृषिविद्हरूसहितको ¥यालीले विराटनगर क्षेत्र परिक्रमा गरेको थियो । त्यसैगरी समितिले खाद्य दिवसकै अवसरमा जिल्ला कृषि विकास कार्यालयको सभाभवनमा ‘मूल्यमा स्थिरता, खाद्य सुरक्षाको सुनिश्चितता’ भन्ने दिवसको नाराकै विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा वरिष्ठ बाली विशेषज्ञ अब्दुशसतार अन्सारीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम कृषि विकास कार्यालयका अधिकृत मनोजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गत असोज ८ गते आयोजना गरिएको विद्यालयस्तरीय निबन्ध प्रतियोगितमा विजयी हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । उक्त प्रतियोगितामा कमलेशकुमार राउत प्रथम, सुस्मिता तिम्सिना द्वितीय, विनया माखिम तृतीय र दीपक विश्वास चौथो भएका थिए । पुरस्कृत विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक श्रीनारायण शर्माले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी सोही अवसरमा मोरङले जिल्लाका डेढ दर्जनभन्दा बढी कृषकहरूलाई पुरस्कृत गरेको छ । जिल्लामा आलु उत्पादनतर्फ उत्कृष्ट हुने कटहरी–५ का सत्यनारायण सिंह, केराबारी–९ का कर्णबहादुर बुढाथोकी, कटहरीका मन्ज सिंह र कटहरीकै राजपति सिंहलाई पुरस्कृत गरिएको छ । महादेवाका सावित्री राजवंशी, मधुमल्ला–९ का अनन्त श्रेष्ठ, आपगाछी–९ का वीरेन्द्रकुमार मण्डल र झुर्किया–७ का दिनेशप्रसाद ताजपुरियाले धान उत्पादनतर्फ उत्कृष्ट भई नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै गहुँ उत्पादनतर्फ शिसवनीजहदाका देवानन्दन साह, बाहुनी–१ का सूर्यनारायण श्रेष्ठ, कटहरी–६ का शेषराज राजवंशी, बाहुनीका नातिबाबु पोखरेललाई पनि पुरस्कृत गरियो । मझारे– का कृषक सुगरात मण्डल, बेलबारी–५ का मोहन राई र टंकीसिनवारीका हरिश्चन थापामगर माछा पालनतर्फ उत्कृष्ट भई पुरस्कार जित्न सफल भए ।
कार्यक्रममा क्षेत्रीय कृषि सामग्री केन्द्रका प्रमुख हरिप्रसाद गजुरेल, कमर्सियल एग्रिकल्चरका कम्पनी सचिव गणेश बाँनिया, कृषकहरू गीता नेपाल र कर्णबहादुर थापाले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्