दलितको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड

दलितको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड

विराटनगर, २९ असोज । दलितका मुद्दाहरूलाई सञ्चारमाध्यमले स्थान दिनुपर्ने विषयमा नेपाल पत्रकार महासंघ मोरङ र प्लान नेपालको सहयोग तथा रिडेफ नेपालको आयोजनामा आइतबार सञ्चारमाध्यममा दलित सवाल सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरूले समाजमा विद्यमान छुवाछुत, जातीय भेदभावलगायतका दलितका समस्याहरू समाधानका लागि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनीहरूले सञ्चार क्षेत्रमा दलितको सहभागिता कम भएकाले पनि सञ्चारमाध्यमहरूले दलितका समाचारलाई कम प्राथमिकता दिएको बताए । दलित समुदायको मानवअधिकार तथा नागरिक हकहितलाई बहाली गर्न सञ्चारमाध्यमले हेपिएर बसेका दलित समुदायका विषयमा समाचार सम्प्रेषण गर्नुपर्ने विचार सञ्चारकर्मीहरूले राखेका थिए ।
कार्यक्रममा बोल्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दलित समुदायको विकासका लागि राज्यले सकारात्मक पहल गरिरहेको विश्वास व्यक्त गरे । उनले सचेतना तथा जागरुकताको कमीमा जातीय छुवाछुतविरुद्धको ऐन लागू भए पनि कार्यान्वयन आशाअनुरूप नभएको बताए । उनले भने, “सञ्चारमाध्यमले समाज तथा लक्षित वर्गलाई सचेत गराउने काम गरे ऐनले प्रभावकारिता पाउने थियो ।”
अन्तरक्रियामा बोल्दै पत्रकार महासंघ मोरङका सभापति विक्रम निरौलाले पछाडि परेका समुदायको आवाजलाई सञ्चारमाध्यमले समेटेमात्र पत्रकारिता आवाजविहीनहरूको आवाज हो भन्ने पुष्टि हुनसक्ने धारणा राखे । अन्तरक्रियाका क्रममा वरिष्ठ पत्रकार मोहन भण्डारीले पत्रकार तथा सञ्चारमाध्यमले दलित तथा पछाडि परेका समुदायको समाचारलाई विशेष स्थान दिनुपर्ने कुरामा जोड दिए । उनले अबका दिनहरूमा आफू पनि सो कुरामा सचेत हुने प्रतिबद्धता व्यक्त गरे । सञ्चारकर्मीहरूसँगको उक्त अन्तरक्रियामा नेपाल प्रेस युनियनका सभापति कुमोद अधिकारी, युनियन केन्द्रीय सदस्य लीलाबल्लभ घिमिरे, प्रेस चौतारीका केन्द्रीय सदस्य डिल्ली पोखरेल, क्रान्तिकारी मोरङका संयोजक गणेश लम्साल, प्रेस चौतारीका माधव अधिकारीलगायतले आ–आफ्ना विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्