तिहारमा ३० लाख रूपैयाँको फूल आयात गरिने

तिहारमा ३० लाख रूपैयाँको फूल आयात गरिने

विराटनगर, १ कात्तिक । विराटनगरमा फूलको अभाव हुँदै गएको बेला तिहारमा ३० लाख मूल्यबराबरको फूल आयात गरिने भएको छ ।
विराटनगरमा फूलको व्यावसायिक खेती कम भइरहेकाले फूलको अभाव भएका कारण भारतबाट आयात गरिन लागेको फूल व्यवसायीहरूले बताए । विराटनगरमा सञ्चालित एक दर्जन फूल व्यवसायीले तिहारमा फूलको अभावलाई कम गर्न आयात गरिन लागिएको बताएका छन् । सामान्यतया अरु समयमा पनि भारतबाट मासिक एकलाख रूपैयाँको फूल आयात गर्ने गरिएको छ ।
मोरङमा उत्पादन गरिएका फूलले अभाव पूर्ति गर्न नसकेपछि तिहारमा भारतको कोलकोत्ता, नयाँदिल्लीलगायतका स्थानहरूबाट आयात गर्ने तयारी भएको हो । माला बनाउन, सजावट गर्न, स्वागत सत्कार गर्न, सम्मान गर्नलगायत फूलका विभिन्न प्रकारका सम्मानयोग्य सामग्री निर्माण गर्न फूलको प्रयोग गरिन्छ ।
मालीका अनुसार भारतबाट आयात गरिएका फूलहरू पूर्वाञ्चलका मुख्य बजार, इटहरी, धरान, दमक, काँकडभिट्टा, विर्तामोडलगायतका बजारहरूमा बिक्री गर्ने गरिएको छ । मोरङको हाटखोला, रोडशेष र ग्रामीण क्षेत्रहरूमा फूलको खेती गरिए पनि जिल्लामा उत्पादन गरिएका फूलले तिहारको मागलाई धान्न नसक्ने व्यवसायीहरूको भनाइ छ । तिहारमा फूलको माला दिदीबहिनीले दाजुभाइलाई एकआपसमा लगाइदिने प्रचलन छ । भारतको दिल्लीबाट मखमली र सयपत्री फूलको आयात गरिनेछ ।
स्थानीय व्यापारी चन्दन मालीका अनुसार विराटनगरबाट पूर्वाञ्चलका विभिन्न क्षेत्रमा फूलको बिक्री वितरण गरिने बताइएको छ । गत वर्ष पनि तिहारको समयमा एक करोडको फूल आयात गरिएको थियो । उक्त मूल्यबराबरको फूलले गत वर्ष धान्नसमेत निकै गाह्रो परेको थियो । तिहारमा फूलको अभावले छटपटिनुपर्ने बेलामा व्यापारीहरूले फूल आयात गरेपछि सर्वसाधारणले फूलको अभावको महसुस गर्न नपाउने उनको दाबी छ । विराटनगरमा कलकता फ्लावर, कोसेली फ्लावर, उमेश फ्लावरलगायतका एकदर्जन फूल पसलहरू सञ्चालनमा छन् । विराटनगरमा फूल व्यवसायीहरूको संख्या न्यून रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्