कृषि विकास बैंकद्वारा लकर सेवा सुरु

कृषि विकास बैंकद्वारा लकर सेवा सुरु

विराटनगर, ४ कात्तिक । कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालयले विराटनगरमा लकर सेवा सुरु गरेको छ । शुक्रबार बैंकले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि तथा क्षेत्रीय निर्देशक उज्जवल आचार्यले रिबन काटी लकर सेवाको शुभारम्भ गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मुख्य शाखाका शाखा प्रमुख तथा कार्यक्रम सभापति टेकविरजंग कार्कीले स्वागत मन्त्वय राख्दै बैंकलाई व्यावसायिक बनाउने प्रयासस्वरुप लकर सेवा सुरु गरिएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले बैंकले आफूलाई विकासको पथमा अघि बढाउन यसका कर्मचारीहरुले आफूमा सुधार ल्याउनुपर्ने बताए । उनले भने, “कर्मचारीले ग्राहकहरुसँग गर्ने व्यवहारदेखि यसले प्रभावकारी सेवामा ध्यान पु¥याउनुपर्ने हुन्छ । यसका लागि कर्मचारीले आफूलाई १० देखि ५ को समय सीमामा बाँध्नुहुँदैन ।”
कार्यक्रममा शाखा प्रमुख चन्द्रप्रसाद उपाध्यायले लकरको सेवा तथा यसको प्राविधिक पक्षको बारेमा जानकारी दिएका थिए । सो अवसरमा दीपक सापकोटा, टेकबहादुर गिरीलगायतले समेत बैंकको कदमको स्वागत गर्दै यस्तै सेवालाई विस्तार गर्दै लानुपर्ने विचार व्यक्त गरेका थिए । कार्यक्रममा लकर सेवा बुकिङ गरेका ग्राहकहरुलाई लकरको चाबीसमेत हस्तान्तरण गरिएको थियो ।
कृषि विकास बैंकले सञ्चालन गरेको यो पाँचौ लकर सेवा हो । यसअघि काठमाडौंमा तीन स्थान र धरानमा एक गरी चार स्थानमा लकर सेवा सञ्चालनमा थियो । यहाँको शाखामा ९० वटा लकरको व्यवस्था भएकामा हालसम्म १५ वटा लकर बुकिङ भइसकेको मुख्य शाखा प्रमुख टेकवीरजंग कार्कीले जानकारी दिए । उनले सेवा लिनको लागि सुरुमा धरौटीबापत १० हजार र वार्षिक सेवा शुल्क दुई हजार बुझाउनुपर्ने बताए । बैंकका पूर्व तथा वर्तमान कर्मचारी तथा समृद्धि खातावालाहरुका लागि बैंकले विशेष छुटको समेत व्यवस्था गरेको उनले बताए । कार्कीका अनुसार बहुमूल्य गहना तथा सामग्रीहरु राख्न प्रभावकारी हुने लकर सेवा कार्यालय सञ्चालन भएका दिनहरुमा सञ्चालित हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्