खानेपानी समस्या समाधानमा सरोकारवाला निकाय मौन

खानेपानी समस्या समाधानमा सरोकारवाला निकाय मौन

खानेपानी, सरसफाई र स्वास्थ्यका क्षेत्रमा नगरभित्र देखिएका समस्याका विषयमा सरोकारवाला निकायहरू मौन देखिएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
सोमबार विराटनगरमा लुमन्ति आवासका लागि सहयोग समूह, विराटनगरको सहयोग र नागरिक सरोकार मञ्च नेपाल, विराटनगरको आयोजनामा भएको खानेपानी सरसफाई र स्वास्थ्यको क्षेत्रमा स्थानीय निकायहरूको सुशासनको अवस्थासम्बन्धी नागरिक रिर्पोट कार्ड परीक्षण तथा सर्वेक्षण कार्यक्रमका वक्ताहरूले नगरवासीले खानेपानी र सरसफाईका क्षेत्रमा झेल्दै आएको समस्यामा सरोकारवाला निकाय मौन रहेको बताए ।
कार्यक्रममा संयुक्त टोल संगठन नगर समन्वय समितिका अध्यक्ष केदार कार्कीले ८० प्रतिशत रोग शुद्ध खानेपानीको अभावले लाग्ने भएकाले नगरवासीको खानेपानी समस्या समाधान गर्न विराटनगर उपमहानगरपालिका र खानेपानी संस्थान उदासिन रहेको आरोप लगाए । उनले नगर क्षेत्रभित्र रहेको फोहोरमैलालाई व्यवस्थापन गर्न नसके त्यसले ठूलो विकराल अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिए । उनले उपमहानगरपालिकालाई वातावरणसम्बन्धी हेर्ने एकजना विज्ञ राख्न मागसमेत गरे । उपभोक्ताको हितका लागि नीति निकाय निर्माण गरिए पनि त्यसको कार्यान्वयन पक्ष एकदमै फितलो रहेको उनको भनाइ थियो । “जतिसुकै राम्रा नीति नियम बनाए पनि कार्यान्वयन भएन भने त्यसको अर्थ छैन,” उनले भने ।
समारोहमा वरिष्ठ पत्रकार यज्ञ शर्माले जनताले पाउने सेवा सुविधाका सम्बन्धमा अझै पनि ठूलो खाडल रहेको चर्चा गरे । सर्वसाधारणको अधिकारलाई नागरिक सरोकार मञ्चलाई खबरदारी गर्न आग्रह गरे । अझै पनि सर्वसाधारणले सरकारी निकायहरूबाट चाहेजस्तो सेवासुविधा प्राप्त गर्न नसकेको शर्माको कथन थियो । त्यस्तै विराटनगर उपमहानगरपालिकाका वातावरण महाशाखाका प्रमुख अर्जन थपलियाले सीमित साधन र स्रोतका बाबजुत पनि नगरवासीका समस्या समाधान गर्न आपूmहरू लागिपरेको दाबी गरे । नगर क्षेत्रभित्र खानेपानी र सरसफाईको समस्या रहेको स्वीकार गर्दै उनले भने, “यी समस्या समाधान गर्न आमनगरवासी र उपमहानगरपालिकाबीचको हातेमालोबाट मात्रै सम्भव छ ।”
कार्यक्रममा नागरिक समाजका सुरबहादुर श्रेष्ठ, पत्रकार मीनकुमार नवोदित, नेपाल रेडक्रस सोसाइटीकी मीना जोशी, लुमन्ति आवासका लागि सहयोग समूहकी कुमारीशोभा तन्दुकार, विराटनगर उपमहानगरपालिकाका पुनम दाहाल, प्राध्यापक पीके झा, बुद्धिजीवी अपार लम्साल, मानगढ खानेपानी आयोजनाका उपाध्यक्ष शरद बराल, नागरिक सरोकार मञ्च नेपाल, विराटनगरका अध्यक्ष मोहन भट्टराई, सचिव नारायण वस्ती, कोषाध्यक्ष डिल्ली प्रसाई, सहसचिव लोकेन्द्र तिम्सिना, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेललगायतले नगरवासीको खानेपानी र सरसफाईको समस्या समाधान गर्न अझै पनि उपमहानगरपालिकाले चासो नदेखाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्