दुई लाख मूल्य बराबरको पटका पक्राउ

दुई लाख मूल्य बराबरको पटका पक्राउ

विराटनगर, ७ कात्तिक । अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा करिब दुई लाख मूल्य बराबरको पटका मोरङ प्रहरीले पक्राउ गरेको छ ।
नगरका विभिन्न क्षेत्रमा चेकजाँचका क्रममा उक्त पटका पक्राउ गरेको हो । तिहारमा पटकाको माग अत्याधिक हुने भएपछि स्थानीय व्यापारीहरूले बालबालिकाको प्रयोग गरेर पटका ल्याउने गरेको प्रहरीको भनाइ छ । सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ गरेको पटका सार्वजनिक गरेर नष्टसमेत गरेको छ । प्रहरीका अनुसार नागिन बम, फ्लोर पोटर्स, भुइँचम्पा, रकेट बम, रेड केस बम, गोल्डेन पटका, कर्नेट बम, नागिन बम, चकलेट बम, खोर्सानी बम गरी दुई लाख मूल्य बराबरको पटका पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद फागोले जानकारी दिए । तिहारलाई मध्यनजर राखेर सर्वसाधारणले समेत भारतीय बजार जोगबनीबाट पटका ल्याउन थालेपछि प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको छ ।
मोरङ प्रहरीले विस्फोटजन्य वस्तु पटका भित्रिन नदिन विराटनगरको रानी, केसलिया मार्ग, पुष्पलाल चोक, हाटखोला, बखरीलगायतका स्थानमा विशेष प्रहरीको टोली परिचालन गरिएको मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले बताए । त्यस्तै सीमा क्षेत्रको बुधनगर, मटेरुवा, दरैया, रंगेली, डाइनियालगायतका सीमा क्षेत्रसमेत कडाइ गरिएको एसपी कार्कीले जनाए । “विगतमा भारतबाट खुल्ला रूपमा पटका भित्रिने गरे पनि अहिले हामीले नियन्त्रणमा ल्याएका छौं,” उनले भने, “तर पनि केही नाकाबाट बालबालिकाको प्रयोग गरेर भित्र्याइरहेको छ भन्ने जानकारी प्राप्त भएको छ ।” मोरङ प्रहरीका अनुसार गत वर्षको तिहारमा विस्फोटजन्य पदार्थ पटकाका कारण दुई दर्जन व्यक्ति घाइते भएका थिए । घाइतेमध्ये अधिकांशको हात र मुख पोलेको थियो । “पटकाका कारण आगलागी भई ठूलो जनधनको क्षतिसमेत हुने भएकाले यसको नियन्त्रण जरुरी छ,” उनले भने । यता, मोरङ प्रशासनले पनि तिहारमा प्रयोग गरिने आतासवाजी पटकालगायतका वस्तुहरू प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले विस्फोटजन्य वस्तुले चाडवाडमा मानवीय क्षति हुने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐनअनुसार प्रतिबन्ध लगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्