गरिबि र अभावले सिकाएको पाठः चित्रकला

गरिबि र अभावले सिकाएको पाठः चित्रकला

‘अभाव र गविरिले मेरो गुरु हो । सानै देखि मैले देखी आएको अभावले मलाई सधै प्रेरणा दिन्थ्यो, मैले केहि गर्नै पर्छ । पाँच वर्षको हुँदा आमाको मृत्यु भयो । मातृत्वको अभावले पनि सधै घोचिरहन्थ्यो । त्यसैले म एकान्तप्रेमि हुँदै गएको थिए । साथी भाईहरु खेल्न जाँदा म भने एक्लै चित्र कोरीरहेको हुन्थे ।’ आफुलाई चित्रकलामा स्थापित गर्दै लगिरहेका चित्रकार घनिन्द्र पिठाकोटे मगरले बाल्यकालको सम्झना गरे ‘चित्र कोर्ने कागजको अभावमा म मिल्काइएका कागजका टुक्राका खालि स्थानमा चित्र कोर्थे । साथीहरुसँग कागज र कलम मागेर चित्र बनाउँथे ।’
मोरङको राजघाटमा जन्मेका घनिन्द्रका चित्रहरु हेर्दा जो कोहि आकर्षणमा पर्ने गर्दछन् । फाइन आर्ट कोर्ने घनिन्द्रले आफ्ना चित्रहरुमा गरिबि र अभावलाई बिशेष हाइलाइट गर्ने गरेका छन् । उनी भन्छन् ‘आँफैले भोगी आएको भएकाले मेरो सृजनामा समेत गरिबि देखिन्छ । आमाको अभावलाई पनि चित्रबाटै पुरा गर्ने गरेको छु ’ ।
‘मैले चित्र कोरेको बुवालाई मन पर्दैन थियो , धेरै पटक बनाएको चित्र फालिपनि दिनु हुन्थ्यो ।’ घनिन्द्रले विगत सम्झिए ‘पछि एसएलसि पास गरे बुवाको एउटा चित्र कोरेको थिँए, बास्तविक झै देखिने सो चित्र देखेर उहाँ निक्कै बेर हाँस्नु भयो ।’ त्यस पछिका दिनहरुमा बुवा आफ्नो कला प्रति सकारात्मक भएको बताउछन् घनिन्द्र । ‘बुवाले सुरुका दिनहरुमा चित्र कोर्न नदिदाँ पनि मेरो साथ सधै कान्छि दिदि गंगाले दिनुहुन्थ्यो’ उनले सम्झिए, ‘मलाई चित्र कोर्न हौस्याइ रहने गर्नुहुन्थ्यो’ ।
अभावहरुसँग हुर्किएर उनी ६ वर्ष अघि विराटनगर आइपुगे । अपरिचित यस शहरमा बाँच्नै कै लागि निक्कै संघर्ष गर्नु परेको उनले सुनाए । ‘विस्तारै मानिसहरु चिन्दै गएँ अनि मानिसहरुले मेरो कला पनि’ चित्र कोर्न सँगसँगै नाच्न पनि सिपालु घनिन्द्रले बेलिविस्तार लाए ‘भानु कला केन्द्रसँग आवद्ध भएर केहि समय नृत्यको प्रशिक्षण पनि लिएँ’ । उनी हाल विराटनगरको श्रीराम उच्च मावि र स्टट स्कुलमा नृत्य शिक्षकको रुपमा रोजगार छन् । बाँच्नका लागि उनी दैनिक उपभोग्य सामाग्रीहरुको आफ्नै व्यवसाय समेत सञ्चालन गरिरहेका छन् । ‘छिटफुटरुपमा चित्रहरु समेत बिक्रि हुन्छन्, बाँच्नलाई अहिले कठिन छैन ’ घनिन्द्र भन्छन् । कस्ता चित्र विक्रि हुन्छन् त ?, ‘साधारणतया मानिसहरु कसैको अनुहार बनाइ दिनु भन्दै आउछन्, आफुलाई मनपर्ने वा स्मरणमा राख्न चाहनेहरुको अनुहार बनाउन आउने धेरै छन् । अर्डर आएको चित्र बनाउछु अनि त्यसबापत केहि रकम प्राप्त हुन्छ ।’, ‘यसरी आउनेमा शौखिन र धनाढ्यहरु बढि हुन्छन्’ । उनी भन्छन् ‘कलाको मुल्य हुदैन, सरकारले मुल्य सिमा तोकेको पनि छैन, न त कुनै कम्पनीले नै ।’
उनको अनुसार विद्यालय पढ्दा पनि उनका चित्र विक्रि हुने गर्दथे , ‘बनाएका चित्र कसैकसैे किन्थे, सुरुमा एउटा चित्र ५ रुपैयामा विक्रि भयो त्यस पछि एक, दुई गर्दै पकेट खर्च यसैबाट पनि जुटाउन थाँले’
कलालाई मस्तिष्कबाट सिर्जित एउटा सुन्दर वस्तु मान्ने घनिन्द्र कोहि जन्मदै कलाकार नहुने बताउछन । ‘समय र परिस्थितिको संगमले मानिसमा त्यसै अनुरुपको कला भर्ने काम गर्छ’, ‘यसलाई निखार्न मेहेनत चाहिन्छ, लगनशिलता हुनुपर्छ ’ तर यस क्षेत्रमा कला र कलाकारको सम्मान गर्ने निक्कै कम छन् । यहाँ कलाकारिता गरेरै मात्र बाँच्न सकिने अवस्था अझै नभएको बताउदै घनिन्द्रले कलाकारहरुले प्रयोग गर्ने सामाग्री र प्रविधिहरुको अभाव भएको दुखेसो गर्छन । ‘सम्भावना बोकेका कलाकारहरुलाई पछि पार्ने कार्य गरिन्छ’ ।
‘सामाग्रीहरुको अभाव, सिप निखार्ने तालिमको अभाव, चित्रहरुमा फ्रेमिङ गर्न, स्ट्याण्डलगायतको यहाँ अभाव छ । यी सबैमा पैसाले भुमिका खेल्छ । यहाँ त्यसैको अभाव छ ’ घनिन्द्रले भन्छन् । उनी हाल भानु कला केन्द्र, ललित कला संगम, प्रगतिशिल साहित्य समाज, नेपाल मगर संघलगायतका समुहमा आवद्ध छन् । ‘हजारौ चित्र कोरिसँके तर अझै सिक्न बाँकि नै छ’,उनले भने ‘जिवनभर सिकिरहने छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्