अभियुक्त छुटाउन न्यायाधीश नै सक्रिय

अभियुक्त छुटाउन न्यायाधीश नै सक्रिय

पेशीमा आएका अभियुक्तउपर अदालत परिसरभित्रै सांघातिक हमला गर्ने विराटनगरका चर्चित दुई अभियुक्तलाई छुटाउन पुनरावेदन अदालत विराटनगरकै एक न्यायाधीश सक्रिय भएका छन् । अभियुक्त अभिषेक गिरीउपर अदालतभित्रै सांघातिक हमला गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका देवानन्द यादव र मुकेश बुढाथोकीलाई थुनामुक्त गर्नुपर्ने भन्दै न्यायाधीश कुमार चुडालले राय बझाएका हुन् । अर्का न्यायाधीश रेवन्तबहादुर कुँवरले जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न भनी गरेको आदेश मनासिब रहेको राय प्रकट गरेका छन् ।
घटना विवरणअनुसार झुम्कास्थित क्षेत्रीय कारागारमा रहेका अभियुक्त गिरीलाई गत जेठ १८ गते यादव र बुढाथोकीसहितका व्यक्तिहरूले मोरङ जिल्ला अदालतभित्र आक्रमण गरेका थिए ।  यसका विरूद्ध अभिषेकपत्नी अनिशाले मोरङ प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हुलाक कार्यालयमार्फत्बाट जिल्ला प्रशासन कार्यालय हुँदै जाहेरी दर्ता गरिएको थियो ।
उक्त मुद्दामा मोरङ जिल्ला अदालतले गत भदौ महिनामा यादव र बुढाथोकीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेश बदर गरी पाऊँ भन्दै यादव र बुढाथोकीले पुनरावेदनमा रिट दर्ता गरेका थिए ।
कानुन व्यवसायीका अनुसार दुई न्यायाधीशमा एक अर्काबीच राय बाझिएपछि पुनरावेदन अदालतका मुख्य न्यायाधीश वा उनले तोकेको तेस्रो न्यायाधीशसमक्ष मुद्दा पेश हुन्छ । त्यसपछिको निर्णय अन्तिम हुन्छ ।
यादव र बुढाथोकीलाई छुटाउन नेकपा एमालेका ओलीसमर्थित एक केन्द्रीय नेता गत हप्ता विराटनगर आएर तीन बसेका थिए । हाटखोलास्थित विराटनगर कारागारमा रहेका बुढाथोकी र यादव आफूहरू छुट्ने पक्का भएको भन्दै शुक्रबार बिहान नै झोला कसेर तयार थिए ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्