पहाडभित्रको आँधी

<span class='c1'>पहाडभित्रको</span> <span class='c2'>आँधी</span>

कसरी सम्झियौ कवि
यो पाखा र देउराली
कसरी सम्झिएर आयौ
धुपी सल्ला र सुनाखरी ।

जब एक बिहान
सूर्य जन्मनै लागेको बेला
यो गाउँ
यो पाखा
र यो पहाडलाई
मानौं
मौनताकै लयमा
सत्तोसराप गर्दै
उँधो हामफाल्दै झ¥यौ
र अँध्यारो रोपेर
गाउँकै आँखामा
हरायौ
साँझको सूर्य हराएजस्तै ।

थकित अनुहार लिएर
सूर्य त बिहान आयो
तर तिमी आएनौ
र छिप्पिएको तोङ्वाजस्तै
अमिलो भइरह्यो
मान्छेको मन
अगेनामाथि
सुकाउन राखेको सुकुटी झैं
आशाको एउटा पर्खाइ
त्यसै ध्वाँसोले छोपिंदै गयो
तर परको पहरामा ठोक्किएर
यता फर्केको हावाले
के सम्झिएर खै
गाउन छोडेन
तिम्रो गलाबाट झरेको गीत
र ढुकुरका मायालु जोडीले
ब्यूँझाइरहे तिमी नभएको याद ।

बजारको धाननाच
उँधौली उँभौलीमा गाइने चण्डी
बालन, संगिनी र हुर्रा
डम्फू, सेलो र मुर्चुङ्गा
सबै सबै चुपचाप बस्छन्
र सुनेर नियास्रो मान्छन्
पहरामा ठोक्किइ आएको
त्यही हावाको गीत ।

तिमी गएपछि नै
धमाधम
मानौं हाँगाबाट पात झरे झैं
यताबाट उँधो उँधो झर्न थाले
बलिया हातपाखुरा बोकेर
छेलो हान्न तम्सने
जोसिला मनहरू ।

आज तिमी आएछौ
बस यही रंगीन कुर्सीहरूमा
तानमा बुनेका गुन्द्री
राडी, पाखी र गजरा
परालको बुट्टे पीरा
डबकाको जाँड
र ठेकीको मोही
सबै समय सकिएपछिको
सूचनाजस्तो
काम नलाग्ने भएर
थन्किएका छन्
दलिन र सङ्ग्राहलयहरूमा ।

अहिले त युद्ध सकिएको मैदान झैं
डर उमार्ने मौनता छ पहाडमा
न च्याबु्रङ बज्छ, न भाले बास्छ
मानौं
मेसिन भएको छ पहाड
र समयका तिखा दाँतले लुछेर
सभ्यता बसाइँ सरेको छ
मान्छे नभएको बस्तीमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्