न्युयोर्कमा बिराटनगर सम्झेर

<span class='c1'>न्युयोर्कमा बिराटनगर</span> <span class='c2'>सम्झेर</span>

उ बिरामी भएको खबर थाह पाएपछि मन थाम्न नसकेर म भेट्न गएकी थिएँ। अमेरीकाको राजधानी वासिंङटन डीसी देखि सन्सारकै राजधानी कहलिएको न्युयोर्कतर्फ जाँदै गरेको बसमा एक्लो यात्रा पट्यारलाग्दो हुन पुग्दो रहेछ। यो एक्लो यात्रामा म क्रमस: म र मेरी बालसखाको अतितका पानाहरु पल्टाउदै बगिरहेकी छु। बिराटनगरको त्यो अतित आखा अगाडि घुमि रहेका छन। बसको झ्यालबाट बाहिर हेर्दा यो बसन्त ऋतुमा भर्खर मौलाउन थालेका रुखहरु देखिन्छन, तर भर्खरै बिरामी भेटेर बिरक्तिएको यो मनलाइ ती हरिया हरिया रुखहरुले सान्त्वना दिन सकेका छैनन्। मैले पहिले पनि धेरै पटक एक्लो यात्रा गरेकी छु, तर आजको जस्तो गहिरो उदासि कहिल्यै छाएको थिएन। उ अर्थात चेतना, नातामा हामी दिदी बहिनी भएपनि मेरो बाल्यकालकी साथी जोसंग मैले स्कूल पढे, जोसंग म खेल्दै हुर्किएँ पनि, उसैलाइ भेटेर फर्कदै छु म। 

बीपी कोइराला तथा सुशीला आमाकी एक्ली छोरी, चेतना।  उ धेरै समयदेखि वासिंङटन डीसी नजिकै भर्जिनियामा परिवारसंग बसोबास गर्दै आइ रहेकी छ। हाम्रो कहिले कहि मात्रै भेट हुन्छ तर टलिफोन कुराकानी भने भइरहन्छ। यो पटकको भेट अलि फरक थियो। आफू  बिरामीभएको कुरा उसले मलाइ भनिन । अन्तैबाट थाहा पाएर फोनमा सोद्धा केहिबेर बोल्न सकिन।

मैले गएरै भेटने निर्णय गरें। म पुग्दा उस्ले बिरामी जस्तो केहि संकेत देखाइन, मुसुक्क हासी। भेटेपछि मलाइपनि आत्म सन्तुष्टि भयो, उस्को स्वास्थमा निकै सुधार आएको पाँए। जतिनै पीडा भएपनि मुस्काउन नछाडने गुण उसले आफ्ना पिता बिपिसंगै सिके जस्तो लाग्छ। कहिलेकहि देखिने र देखाउने कुराहरु फरक फरक हुन सक्छन।

स्कूल पढदा खाजा खान भनेर घरबाट दिनको एकसुका (२५ पैसा) लिएर हामी जान्थ्यौं। एकदिन खाजा खाने बेलामा चेतनाले भनि “म आज खान्न, तिमीहरु खाओ” ।हामीले कारण सोध्यौं। उसले ढांटन सकिन। भन्न करै लाग्यो, “सुशिला आमासंग आज पैसा थिएन”।

पन्चायतले अराष्ट्रियतत्व तत्वको आरोप लगाएका बीपी त्यसबेला भारतको प्रवासमै हुनुहुन्थ्यो। सुशीला आमाको आयश्रोत झन के थियो र? भुतपूर्व प्रधानमन्त्रीकी छोरीलाइ खाजा खान दिन उस्की आमासंग एकसुका थिएन भनेर भन्दा सायद आजका युवाले पत्याउदैनन् होला। तर एकअर्कामा खाजा बाँडेर खाएका हामीलाइ त्यो कुरा थाहा छ।  भ्रष्टाचार गरेको  पैसाको कुनै बिदेशी ब्यांकमा बीपीको खाता थिएन।

सादा जीवनका प्रतिमूर्ति मनमोहन अधिकारीकी छोरी प्रिती पनि हाम्रो समुहकी मिल्ने साथी थिई। हामी उसलाई ब्यबहारमा सोझी तर बिचारको खानी भन्थ्यौं । उस्को घर स्कूलनजिकै थियो। म सयौंपटक त्यो घरमा पुंगेहोला तर त्यो घरले नै बताउथ्यो त्यो घरका मान्छेको सरलता र इमान्दारी।  त्यो घरमा महंगा फर्निचर र तडक भडक कहिल्यै देखिएन तर आदर र स्नेह कहिल्यै हराएन।
***
दिनहरु सधै उस्तै हुँदैनन्। जीवनयात्रामा धेरै उतार चढाव आइनै रहन्छ, मिलन र बिछोडका दिन हरुपनि आइनै रहन्छन। हरेकदिन उस्तै घाम वा पानी हुँदैन। कमजोर आर्थिक अबस्था र पिताको प्रवासले गर्दा केहि समयपछि  चेतनापनि सुशीला आमासँग बनारस पुगी। र, उतै पढ्न थाली। हाम्रो त्रिमूर्ति टुट्यो। प्रीति र म बाकी रह्यौ। हाम्रो ग्रुपमा कहिले कहि सुरेश अधिकारीकी छोरी सुमिता पनि थपिएकी हुन्थी। उ निडर र मिलनसार थिई। चेतना संगको हाम्रो बिछोडलाइ सुमिताले केहि हद सम्म पुरा गरेकी थिइ। हामी उमेरमा सानै भएतापनि साथीभाइ र समाजकालागि केहि गर्नु पर्दछ भन्ने सोच्थ्यौं। हामी एककिसिमले स्कूको केन्द्रमा थियौं।  प्रीति र मेरो दुबैकी आमा त्यहि स्कूलका शिक्षिका भएकाले पनि हाम्रो स्कूलमा एक किसिमको दादागिरी नै चल्थ्यो भन्दा हुन्छ ।

बिराटनगरमा पछि सम्मै चर्चामा रहेको एउटा घटना छ। स्कूलमा सरस्वती पुजा धुमधामका साथ मनाउने चलन छ। यसले शिक्षाकी प्रतिमूर्ती सरस्वतीको आराधना त हुन्छ नै, त्यसले स्कूल नजाने युवाहरुलाइ रमाइलो गर्दा गर्दै पनि पढनु पर्दछ  भन्ने हौसला दिन्छ। चलन अनुसार, सरस्वतीको मूर्तीलाइ भजन कीर्तनसहित दिनभरि पुजा गरेपछि, दोश्रो दिन कुनै नदीमा लगेर बहाउनु पर्दछ। एक पटक, त्यो मूर्तीलाइ खोलासम्म पु-याउनकालगि हामीले ट्रक पाएनौ। नजिकको अर्को स्कूल आदर्श बिध्यालयका केटाहरु संग हार गुहार गर्ने एउटा योजाना बनायौ।

सुमिता कुराहरु मिलाउन सिपालु। केटीहरुले सहयोग मांगे पछि, आँखा चिम्लिएरै, केटाहरुबाट सहयोग मिल्ने नै भयो। उनीहरुले एउटा ग्यारेजबाट ट्रक निकालेर सोझै बिध्यालयको प्राङ्गणमा ल्याएर राखिदिए। सरस्वतीको मूर्ती राखेर कोशी नदि तिर जान के लागेका थियौ, स्कूलको प्राङ्गणमा त पुलिसको जिप पो आइ पुग्यो। ग्यारेजबाट ट्रक चोरि भयो भन्ने रिपोर्ट पुलिसमा पुगेको रहेछ। प-यो फसाद। हामीलाइ प्रहरि कार्यालय लगियो। हल्ला भन्ने चिजलाइ प्वांख पलाउनु पर्दैन, एक कान दुइकान मैदान हुदै हल्ला फैलिन पनि केहि बेर लागेन। एकै छिनमा बिराटनगर बजार हल्लियो, हस्याङ फस्याङ गर्दै मेरी आमा र मनमोहन अधिकारी प्रहरि कार्यालयमा आइ पुग्नु भयो र डिएसपि संग बार्ता गर्नु भयो।

चोरीको नियत नभएकाले सरस्वतीको मूर्ती कोशी नदी सम्म पु-याएर ट्रक तुरुन्तै फर्काउनु भन्ने आदेश दिदै हामीलाइ छोडियो। स्कूल फर्किदा त हामी हिरो जस्तो भयौं। सबैले ताली बजाएर हाम्रो स्वागत गरे। अनि ट्रकमा सरस्वतीको मूर्ती राखेर कोसी पु-याएर ट्रक फिर्ता ग-यौं। त्यो बेला चेतना बनारसमै थिई। हाइस्कूल सकेर कलेज पढन म पनि बनारस पुगें। प्रीति चाहि बनारस आइन। चेतना भेटिँदा प्रीति छुटि।दिनहरु बित्दै गए। घरमा हाम्रा बिबाहका कुरा चल्न थाले। त्यो जमानामा पनि कोइराला परिवारमा प्रेम बिबाहका लागि कुनै बन्धन थिएन। तर चेतनाले भने अविभावकले खोजिदिएको केटोसंगै बिहे गर्ने निर्णय लिइ। कतिसम्म भने बिहे अघि उस्ले हुनेवाला दुलाहालाइ देखेकी पनि थिइन। हुन त बीपी कोइरालाजस्ता महामानव पिताले अनुमोदन गरेपछि चेतनाले केटामा अबिश्वास गर्नु पर्ने कारण पनि थिएन। उसले म संग भनेकि थिइ, ‘सन्सारले बिश्वास गर्ने मान्छेलाइ म कसरि अबिश्वास गर्न सक्छु र?’

चेतनाको बिबाह एकदम साधारण तर खुब रमाइलो भयो। बिहे पछि बीपीले मलाइ सोध्नु भयो, “साथीको त बिहे भयो, अब तिम्रो पालो आएको छ, तिमी पनि केटालाइ हेर्दै नहेरिकनै बिबाहका लागि मन्जुरि दिन्छ्यौं?” मैले तत्काल जबाफ दिए, “म त केटा हेर्दै नहेरी बिहे गर्दिन”। यो मेरा माता पिता प्रतिको मेरो अबिश्वास होइन तर मान्छे नै नहेरी बिबाह गर्न सकिन्छ भन्ने मलाइ लागि रहेको थिएन। मलाइ लाग्यो, म चेतना जस्तो साहसि हुन सक्दिन। आखिर बिबाह एक किसिमको सम्झौता हो। यहाँ न कुनै आदर्श राम भेटिन्छ, न कुनै आदर्श सीता। यी सबै कथामा मात्र सिमित छन्। केहि समय पछि मेरो पनि बिबाह भयो। बिबाह पहिले केटासग भेटघाट नभए पनि अविभावककै रोहवरमा केटा संग देखादेख सम्म भएको हो।

***
चेतना पनि आफ्नो दुलाहा संगै अमेरिका आइ र म पनि परिवार सहित अमेरिका आंए।
प्रीति नेपालमै बसी। धेरै बर्ष पछि म नेपाल गएको बेला उस्लाइ भेटें। भेटने बित्तिकै हामी धेरै बेर अगालोमा बांधियौ। हामीले चाहेर मात्रै केहि हुदैन, दैबको लिला टारेर टर्दैन। उनका आमा र बाबा दुबैसंगबाट सधैका लागी बिछोडिनु पर्दाको पिडाले प्रीति झनै भक्कानिएकी थिइ। साधनादी र मनमोहन दाइलाइ सम्झदै वहांहरुसग बालककालमा मैले पनि बिताएका दिनहरुको सम्झनाले मेरोपनि भक्कानो फुटेको थियो।  “छोरी मेडिकल पढन चाहन्छे, मैले कसरि पढाउनु भन्ने चिन्ताले म पिरोलिएकी छु” भनेर उस्ले भनेकी थिई। हामी एकदमै मिल्ने साथी भएर मात्र यति कुरा भएको हो। नत्र उ पनि आफ्ना पिता मनमोहन अधिकारी जस्तै सहनशिलताकी प्रतिमुर्ती नै हो। मलाइ थाह छ, प्रिती पनि भुतपूर्ब प्रधानमन्त्रीकी छोरी हो, तर अनैतिकताको अ पनि सुन्न नसक्ने मनमोहन अधिकारीले छोराछोरीका लागी होइन देशकालागि आदर्श छोडेका छन, भ्रष्टाचारको थैली होइन।

मैले उस्लाइ बुबाको आदर्श र नाम सम्झाउदै ढाडस दिने कोसिस गरें। महाकवि देवकोटाका ‘हातको मैला’को कुरोपनि गरें।  तर मलाइ पनि थाह छ, त्यो त ढाडस दिने कुरा मात्रै हो। छोरीको डाक्टर बन्ने इच्छा पुरा गर्न, सिर्फ मायांले मात्र पुग्दैन। र प्रीतिले पनि बुझेकी थिई, उसकी साथीले उसको मन राख्न उसले यस्ता कुरा गरेकी हो भनेर।

चेतना र प्रीति दुबैजना कुनैबेलाका प्रधानमन्त्रीका छोरीहरु थिए। तर एउटा सामान्य मानिस सरह अभाव र समस्या झेल्दै र सहदै सरल जीवनयापन गरिरहेका थिए। उनीहरुलाइ सम्झदा सम्झदै मेरो मनमा कैयौ प्रश्नहरु उब्जिए: त्यस्ता ब्यक्तिहरुले आफ्नो जीवनकालमा देखाएको त्याग, बलिदान, सरलता र इमानदारीलाइ अबको पुस्तामा कसरि हस्तान्तरण गर्न सकिएला? देशकालागि बढी सोच्ने संस्कृति कसरि बिकास गर्न सकिएला? अकुत सम्पति होइन, इमान्दारीको नैतिक मुल्य सुम्पेर जाने सस्कार कसरि बसाल्न सकिएला? यस्ता कुरा सोच्दा सोच्दै मलाइ चेतना र प्रीतिको साथीहुनुको गौरव अनुभूति भइरह्यो।

***
मेरो बस न्यूयोर्कतिर हानिएर गुडेको गुडेकै छ। आफ्नो बिरामीपनलाइ लुकाएर भएपनि उहि मुस्कानका साथ चेतनाले ‘अब म न्यूयोर्क आउछु र फेरी भेटौला’ भनेको सम्झदै म तिनै पुराना दिनहरुमा पुगिरहेकी छु। न्यूयोर्कका भव्य महलहरु देखिन थाली सकेपछि मेरो सम्झनाको क्रम भङ्ग हुन पुग्दछ। अहिले मलाइ प्रतिक्षा छ, ती दुइ चेतनाको। एउटा मेरी बालसखा जो पूर्ण स्वस्थ भएर मलाइ भेटन न्युयोर्क आंउदैछे। र, अर्को इमान्दारी, सरलता र त्यागले भरिएको त्यो ‘चेतना’ जस्ले नेपाल राष्ट्रको सुन्दर भबिष्य बनाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्