काम १५ लाखको, ठेक्का ४२ लाखको (setopati.com)

काम १५ लाखको, ठेक्का ४२ लाखको (setopati.com)

चर्को आर्थिक व्ययभार थपिने गरी विराटनगर उपमहानगरपालिकाले दुई करोड रूपैयाँ बढी खर्च गर्ने योजनासहित नगरभित्रका आधा दर्जन मुख्य सडक मर्मत (ग्राभेल) थालेको छ। उपभोक्ता समितिले कम खर्चमा निर्माण गरिदिने भनी गरेको प्रस्ताव अस्वीकार गर्दै उपमहानगरपालिकाले ठेकेदार कम्पनीमार्फत सडकको ठेक्का लगाएको हो। ठेकेदार पोस्नेगरी सडक ठेक्का लगाउँदा नगर अधिकृतदेखि, इन्जिनियर र निर्माण कम्पनी मिलेको उपभोक्ताको आरोप छ।

नगरपालिकाले विराटनगर–१५ को कान्छादाई मार्ग, सखुबारे मार्ग, कवि धरणीधर मार्ग, विकेभिएम स्कुल दक्षिणमार्ग, वडा नं. ४ को कञ्चन मार्ग र हिमाली मार्ग ठेक्कामा लगाएको हो। तीन महिनायता यी सडकमा ग्राभेल भइरहेको छ।

उपभोक्ता समितिले १५ लाख रूपैयाँमै निर्माण सम्पन्न हुने भनेर प्रस्ताव गरेको स्टिमेट लत्याएर त्यसको झन्डै तेब्बर बढीमा उपमहानगरपालिकाले यी सडक मर्मत थालेको छ। सडक निर्माणमा अनियमितता भएको भन्दै उपभोक्ता आक्रोशित बनेका छन्। 'यो सडक १५ लाख रूपैयाँमै मर्मत गर्ने योजना हाम्रो थियो,' विराटनगर–१५ को कान्छादाई सडक निर्माणमा अनियमितता भएको बताउँदै भूतपूर्व वडा सदस्य दमनसिंह कार्कीले भने, 'तर नगरपालिकाले ४२ लाख ठेक्कामा ठेकेदारको जिम्मा लगायो।'

उनका अनुसार यो सडकको पुरानो पिच राम्रोसँग नभत्काइकनै ठेकेदारले ढुंगा–गिट्टी थुपारेका छन्। सडक मर्मत गर्दा ६ इञ्चदेखि दस इञ्चसम्म खन्नुपर्ने मापदण्ड भएकोमा पुरानो कालोपत्रे राम्ररी नभत्काई ठकेदारले ढुंगा–गिट्टी विछ्याएको उनले बताए। 'पुरानो सडकमा उम्रेको झार पनि त्यतिकै छ, त्यहीमाथि ठेकेदारले ढुंगा–गिट्टी विछ्याएका छन्,' स्थानीय उपभोक्ता समितिका पूर्वसचिव डिल्ली घिमिरेले भने, 'यत्रो रकममा त बाटो पिच पनि हुन्छ।'

९ सय ५० मिटर लामो यो सडक मर्मतमा ल्याइएको ढुंगा–गिट्टी पनि गुणस्तरीय नभएको स्थानीयले आरोप लगाएका छन्। ठेकेदारले यो बाटोमा फोहोर, पातपतिंगर, थोत्रा कपडा मिसिएको ढुंगा–गिट्टी बिछ्याइरहेका छन्।

कार्यकारी अधिकृत गोपाल रेग्मीले विगतमा उपभोक्ता समितिले गुणस्तरहीन काम गरेकाले यसपालि निर्माण कम्पनीलाई सडक मर्मतको ठेक्का लगाइएको बताए। 'उपभोक्ता समितिले राम्रो काम नगरेकैले यसपालि उनीहरूलाई सडक मर्मतको जिम्मेवारीबाट बञ्चित गराइएको हो,' रेग्मीले भने, 'यदि कतै गुणस्तरहीन काम ठेकेदारले गरेको रहेछ भने कारबाही गर्नेछु।'

उपमहानगरपालिकाले सखुबारे मार्ग, धरणीधर, विकेभिएम, कञ्चन मार्ग र हिमाली मार्गमा ३८/३८ लाख रूपैयाँ खर्च गर्नेगरी ठेक्का लगाएको छ। स्थानीय विकास मन्त्रालय र विराटनगर उपमहानगरपालिकाको पचास–पचास प्रतिशत रकम खर्चेर यी सडक ग्राभेल थालिएको हो। कान्छादाई मार्ग ग्राभेलको ठेक्का विराटनगर–४ स्थित शुभलक्ष्मी निर्माण सेवाले पाएको छ। त्यसैगरी, सखुबारे मार्ग एमएम निर्माण सेवा विराटनगर–१६, कवि धरणीधरमार्ग, कञ्चन मार्ग, हिमाली मार्ग जेके निर्माण सेवा विराटनगर–११ र विकेभिएम मार्ग कला विल्डर्स विराटनगर–१६ ले पाएको छ।

शुभलक्ष्मी निर्माण सेवाका ठेकेदार गिरिराज पौडेलले कान्छादाई मार्गमा नगरपालिकाको स्टिमेटअनुसारै काम गरेको दाबी गरे। 'हामीलाई नगरपालिकाको स्टिमेटमा पुरानो पिच भत्का भनेर भनेकै छैन, तै पनि हामीले भत्काएर गिट्टी हालेका छौं,' पौडेलले भने, 'नगरपालिकाले जस्तो स्टिमेट दिएको सोहीअनुसार काम भइरहेको छ, केही ढुंगा–गिट्टीमा फोहार मिसिएर आएकोले त्यसलाई सुधार गरेर काम गरिरहेका छौं।'

नगरपालिकाले यी सडक मर्मतको टेन्डर पुस र चैतमा पत्रपत्रिकामा प्रकाशित गरी खुलाएको थियो। स्रोतका अनुसार टेन्डर घटाघटका आधारमा खुलाउनुपर्नेमा मिलेमतोमा नजिकका निर्माण व्यवसायी कम्पनीलाई दिइएको छ। नगरपालिकाका योजना प्रमुख हरि ओझाले पारदर्शी ढंगले नै सडकको ठेक्का लगाइएको जिकीर गरे।

टोल संगठन विराटनगर–१५ का अध्यक्ष भवानी श्रेष्ठका अनुसार विगतमा उपभोक्ता समितिले गुणस्तरीय सडक निर्माण गरेको भए पनि यसपालि स्थानीय जनसहभागिताबारे नगरपालिकाले सोधीखोजी नगरेको बताए। 'स्थानीय जनताको सहभागिताबिना कसरी पारदर्शी काम हुन्छ?' उनले भने, 'नगरपालिकाले कसरी टेन्डर लगायो यसबारे यहाँको टोलसंगठनलाई थाहा छैन।'

साभार: Setopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्