सुन्छु जति तरल छ समुन्द्र त्यति नै तरल
हुँदैन जीवन ।
जति ठोस छ यो धर्ती,
त्यति ठोस पनि हुँदैन जीवन ।
थाहा छैन हरेक विहान पुर्वमा उदाउने रातो डल्लो घाम
हो कि आँखा ?
र हरेक साँझ पश्चिममा ढल्ने दिन हो
कि आफ्नै उमेर ?
कुहिरो लागेर कुनैदिन प्रकाशले मलाई भेटेन भने
सँधै आफैलाई सोध्छु,
म भएर छाँया छ कि छाँया भएर म छु?
कि प्रकाश भएर हामी छौ?
म के हुँ?
पृथ्वी? अनि मेरो टाउको नि?
आकाश? अन्तिम प्रश्न,
के मेरो आकाश पनि पृथ्वीको जस्तै निलो हुन्छ?
सुनेको छु जीवन टाडावाट हेर्दामात्र देखिन्छ रे ।
टाडा भनेको कति ?
चन्द्रमा जति कि तारा जति?
म आफुलाई चिनाउदा लेख्छु "जीवन पढिरहेको विद्यार्थी "
तर अहिलेसम्म प्रश्नहरूवाहेक केहि पढेको याद छैन ।
के जीवन प्रश्नै प्रश्नहरूको चाँङ हो?
होईन भने जवाफ चाहियो ,
म ऐना हेर्दा कसलाई देख्छु?
जीवनलाई कि मलाई?