विराटनगरमा चल्यो डोजर

विराटनगरमा चल्यो डोजर

 

विराटनगर उपमहानगरपालिकाले सडक फाराकिलो बनाउन मापदण्ड विपरित सडक नक्सा भित्र बनेका घरटहराहरु भत्काउने कार्य सुरु गरेको छ। विकासका नाममा विनास गर्न नहुने भन्दै नागरिक संरक्षण समाजले विरोध जनाइरहेको अवस्थामा मापदण्ड विपरितका बनेका घरटहराहरु हटाउने कार्य सुरु गरिएको हो।

विराटनगरको नागरिक संरक्षण समाजले मुआव्जा विना घर टहरा भत्काउन नदिने भन्दै विरोध जनाउदै आएपनि नगरपालिकाले बिहिवारदेखी सडक फराकिलो बनाउने काम सुरु गरेको हो। बिहिवार आफ्नै कार्यालयको पर्खाल भत्काएर सडक फराकिलो बनाउने कार्यको थालनी गरिएको उपमहानगरपालिकाले जनाएको छ।

विकास निर्माणका नाममा भएका संरचनाहरु भत्काउने नमिल्ने भन्दै विरोध भइरहेको अवस्थामा आफ्नै भवन भत्काएर विकास निर्माणको काम सुरु गरिएको उपमहानगरपालिकाका इन्जिनियर भरत न्यौपानले जानकारी दिए।

उपमहानगरपालिकाकै भवन सडक नक्सा भित्र रहेकाले भत्काइएको उनले बताए। बिहिबारदेखि क्रमिक रुपमा घरटहराहरु भत्काउने नगरपालिकाले जनाएको छ।

२०५७ सालमा तत्कालिन जनप्रतिनिधिले निर्धारण गरेको मापदण्ड अनुसार विराटनगर उपमहानगरपालिका भित्रका सडक विस्तारको काम सुरु गरिएको हो। उपमहानगरपालिकाले बृहत ढल तथा नाला निर्माण परियोजना अन्तर्गत सडक फराकिलो बनाउने कार्य सुरु गरिएको हो।

पुस मसान्तसम्मको सर्वसाधारणलाई घर टहरा हटाउने समय दिएपनि स्थानीयले नटेरेपछि नगरपालिकाले आफै भत्काउन सुरु गरेको हो।

मापडण्ड विपरित बनेका टहरा भत्काउन दिएको ३५ दिने म्याद सकिएपछि पुन तीन दिने सूचना जारी गरेको थियो। तर थप गरिएको समयमा पनि भत्काउन सुरु नगरेपछि नगरपालिकाले आफै भत्काउने काम सुरु गरेको हो।

एसियाली विकास बैंक र नेपाल सरकारको ऋण सहयोगमा ढल, नाला तथा सडक विस्तारका निम्ति दुई अर्ब ५० करोड रुपैया लागतमा ढ र सडक निर्माणको सुरु गरिएको हो। बृहत सहर निर्माणका लागि सीटीआई चाइना र कालिका कन्स्ट्रक्सनलाई परामर्शदाता नियुक्त गरी काम सुरु गरिएको छ।

तिन बर्ष भित्र सक्ने लक्ष्य राखिएको परियोजना सम्पन्न भएपछि विराटनगरको मुहार फेरिने नगरपालिकाको दाबी छ। परियोजना अन्तरगत विराटनगर उपमहानगरपालिकाको ६५ किलोमिटर सडक र ६२ किलोमिटर नाला निर्माण गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्