|| अमृत सुवेदी ‘गुराँस’ ||
बनाउँदा बनाउँदै मालिकको घर
बर्षौंसम्म किन हुनु परेको छ आफैं बेघर ?
रङ लगाउँदा लगाउँदै घरका भित्ताहरू
आफ्नै जिन्दगी किन छ रङ्गहीन
गिट्टी कुट्दाकुट्दै किन ठोकिन्छ ?
हाम्रै शिरमा हम्मर
बालुवा चाल्दाचाल्दै किन चालिएनन् दुःखहरू ?
हाम्रै पसिनाले बनेको घर मालिक
किन बान्ता गर्छ पसिनाको गन्धले ?
जोत्दाजोत्दै साहूको खेत
किन बञ्जर बन्यो आफ्नै भविष्य ?
किन लुटियो हाम्रै श्रम र पसिनाको मूल्य ?
जहाँ, काम गरेर पनि
हतकडी छ– हाम्रा हातगोडामा
बन्द छन्– हाम्रा सपनाहरू !
भन्नुस् –यो देश कहिले खुला छ ?
हरेक दिन
बेपत्ताको सूची हेरेर किन रुन्छिन आमा ?
कहाँ हरायो सिउँदोको गुराँस ?
त्यो चौकको सालिक कसको हो ?
जसलाई देखाएर पढाइन्छ वीरताको कथा
किन बलि चढाइयो हजारांै शिर ?
र, भन्न लगाइयो बुद्धको देश !
घटाएर हाम्रै जिन्दगीको उचाइ
भनियो सर्वोच्च सगरमाथाको देश
जहाँ जल्यो हाम्रै झुपडी
मरिए हाम्रै भ्रुण सपनाहरू
हाम्रै रगत पसिनाले भिज्यो माटो
कहिल्यै सिङ्गदरबार पुगेन हाम्रो व्यथा
मात्र वर्षौंदेखि देश पढाइएको छ
सुन्दर, शान्त विशाल !
यहाँ कहिल्यै लेखिएन साँचो इतिहास
अनि भन्नुस्– देश कहिले खुला छ ?
छन्– सहरमा प्रशस्त महँगा अस्पतालहरू
तर, किन मर्छ कोही उपचार नपाएर ?
खुलेका छन्, ठूला क्याम्पसहरू
किन हुन्छ कोही पढ्नबाट वञ्चित ?
किन जान्छ जवान योग्यताको प्रमाणपत्र च्यापेर परदेश ?
खेतबारी बन्दक राखेर बेचिएका सन्तान कसका हुन् ?
कोमार्फत पुग्छे चेली सिमानापारि ?
किन हुन्छे चेली बलात्कार ?
किन कहिल्यै बोल्दैन न्यायको पक्षमा अदालत ?
कसले राख्छ हाम्रै शिरमा पैताला ?
कसको मठुीमा छ प्रशासन ?
कसका छोराछोरीले पाएका छन् सजिलै रोजगारी ?
किन खोज्छ रोजगारदाता कुनै नेताको सिफारिस ?
किन बन्दैन सजिलै अड्डामा काम ?
कसको बगेको छ पहिरोमा घर
र, कसले लिएको छ राहत ?
किन डिप्रेसनमा आत्महत्या गर्छ कोही ?
यहाँ सच्चा नागरिक हुन मनाही छ
बन्द गरिन्छन्– आवाजहरू
मान्छेहरू चिच्याइरहेछन्– आज नेपाल बन्द !
भन्नुस्– यो देश कहिले खुला छ ?