अम्विका बस्त्रालयले भूकम्पपीडितहरुलाई ल्याएको त्रिपाल नाफा खाइ बेचेको खुलासा

अम्विका बस्त्रालयले भूकम्पपीडितहरुलाई ल्याएको त्रिपाल नाफा खाइ बेचेको खुलासा

विराटनगर, जेठ ७ : भूकम्पपीडितहरुलाई राहत दिलाउने उद्देश्यले नेपाल ल्याउने त्रिपालमा नेपाल सरकारले भन्सार छुटको व्यवस्था गरेको छ । तर विराटनगरका व्यापारीहरुले राहतका लागि भन्सार छुटमा ल्याइएका त्रिपालमा अधिक मुनाफा खाएर बेच्ने गरेको खुलासा भएको छ । वैशाख १२ र २९ गते गएको महाभूकम्पका कारण हजारौं नेपालीको ज्यान गएको छ भने करोडौंको भौतिक संरचनाहरुमा क्षति पुगेको छ । नेपाल सरकारले भूकम्पपीडितका लागि आयात गर्ने त्रिपालमा भन्सार छुटको व्यवस्था गरेको छ । तर विराटनगरका व्यापारीहरुले मौकाको फाइदा उठाउँदै दोब्बरभन्दा बढी मुनाफा गरेर बेचिएको पाइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा खटिएको अनुगमन टोलीले विराटनगरको अम्बिका वस्त्रालयको अनुगमन गरेको छ । अनुगमनका क्रममा वस्त्रालयले भूकम्पपीडितका लागि भन्सार छुटमा खरिद गरी ल्याइएको त्रिपालमा ७८ प्रतिशतसम्म नाफा राखेर बेचिएको पाइएको हो । अम्विका बस्त्रालयले त्रिपाल भारतबाट प्रतिपिस ६ सय ३९ रुपैयाँ खरिद गरी विराटनगरमा १ हजार १ सय ४१ रुपैयाँमा बिक्री गरेको भेट्टिएको थियो । यसैगरी प्रणामी इन्टरप्राइजेजले २५ प्रतिशत नाफा राखेर भन्सार छुटमा ल्याइएका त्रिपाल बेचिएको अनुगमनका क्रममा फेला परेको हो । यस्तै विराटनगरको शनि मन्दिर छेउको विनोद इन्टरप्राइजेजको पनि अनुगमन गरिएको छ । व्यापारीहरुले खरिद मूल्यको अधिकत नाफा २० प्रतिशतभन्दा बढी लिन नपाउने ऐनमा उल्लेख गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले व्यापारीहरुले महाविपत्तिका बेला भन्सार छुट गरी ल्याइएका त्रिपालमा अत्यधिक नाफा गरी बेचिएको पाइएकाले कानुनमा तोकिएअनुसार कारबाही गर्ने बताउनुहुन्छ । अनुगमनमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, वाणिज्य कार्यालयका नयराज नेपाल, कर कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता थियो । महाविपत्तिको समयमा सहयोग पु¥याएर मानवीयता देखाउनुपर्नेमा उल्टै भन्सार छुट गरी ल्याएका राहत सामग्रीमा आहात पुग्ने गरी नाफा खाने व्यापारीलाई कानुनी दायरमा ल्याउनु आवश्यक छ ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्