के भुकम्प पछी बिराटनगरका स्कुल सुरक्षित छन त ?

के भुकम्प पछी बिराटनगरका स्कुल सुरक्षित छन त ?

विराटनगर÷ गत बैसाख १२ गते आएको भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनले गर्दा क्षति पुगेका निजी स्कुलहरुले विवरण जिल्ला शिक्षा कार्यालय सम्म पुगेको छैन् । भवन चकिएको हल्ला चले अभिभावकले विद्यार्थीहरु स्कुल नपठाउने त्रासले गर्दा निजी विद्यालयहरुले स्कुलमा क्षति पुगेपनि विवरण नबुझाएका हुन् ।
निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) मोरङले पनि क्षति पुगेका स्कुलको नाम लुकाएको छ । प्याप्सन मोरङले मंगलवार जिल्ला शिक्षा कार्यालय मोरङलाई पठाएको पत्रमा क्षति पुगेका स्कुलहरुको नाम र विवरण उल्लेख नगरी भूकम्पले चर्काएका भवनको परिक्षण गर्न प्राविधिक टोली पठाउन माग गरेको छ ।
प्याप्सनले पठाएको पत्रमा स्कुलहरुमा प्राविधिक जाच टोली पठाउन भनिएपनि कुन कतिवटा स्कुलमा क्षति पुगेको छ भन्ने उल्लेख नगरेको जिसिका मोरङले जनाएको छ । स्कुलको नाम उल्लेख गरे जोखिम युक्त स्कुलमा अभिभावकले बच्चा नपठाउने त्रासले गर्दा निजी विद्यालयको नाम उल्लेख नगरी जिसिकालाई पत्र पठाएको स्रोतले जनाएको छ ।
प्याप्सन मोरङले प्राविधिक टोली पठाउन आग्रह गरेको पत्र आएको मोरङका साहयक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीले जानकारी दिए । उनले भने ‘ हिजो पत्र हामी कहा आएको रहेछ । प्राविधिक टोली माग गरिएपनि कुनै स्कुलको विवरण पठाएको छैन् । हामीले स्कुलको नाम, ठेगाना, स्थानीय निकायको सिफारिस, प्रहरी रिर्पोट र चर्केको फोटो सहित पठाउन आग्रह गरेका छौ ।’ उनले निजी स्कुलले सम्पूर्ण विवरण पठाए जिसिकाबाट प्राविधिक टोली पठाउने जानकारी दिए ।
यता प्याप्सन मोरङका अध्यक्ष टिकाराम ढकालले मोरङका स्कुलहरुमा ठुलो क्षति नपुगेको जानकारी दिए । अधिकासं स्कुलमा सामान्य क्षति पुगेकाले कुनै स्कुलको नाम उल्लेख नगरी प्राविधिक टोली पठाउन आग्रह गरेको जानकारी दिए । उनले भने ‘ कुनै स्कुलमा ठुलो क्षति भएको जानकारी आएको छैन् । अधिकासंको भ्mयाल ढोकाको छेउछाउ चर्केका छन । जोखिम छ की छैन भनी जाच गर्नलाई पत्र पठाएको हो ।’
मोरङका एकसय ५० सामुदायिक स्कुलका भवनमा क्षति पुगेपनि हाल सम्म निजी स्कुलहरुले भूकम्पले गर्दा क्षति पुगेको भन्ने जानकारी नगराएको साहयक जिसिअ बुढाथोकीले जानकारी दिए । उनले भने ‘ हामीलाई बेलवारीको गोदावारी बोडिङ स्कुलले भवन सामान्य चर्केको भन्ने जानकारी दिएको छ । अन्य निजी स्कुलले दिएका छैनन् ।’
विवरण संकलन गर्ने काम जारी रहेकाले हाल सम्म तिन वटा सामुदायिक विद्यालयका भवन प्रयोग गर्न नमिल्ने भएको छ । उनले विराटनगरको आर्दशबालिका माध्यमिक, मिल्स माध्यमिक र जनकल्याण मावी टाडी स्कुलको भवन भत्किएको जानकारी दिए ।
उनले भने ‘ भवन चर्किएको हल्ला चलेपछि हामी विकेभिएम स्कुल गएका थियो । स्कुलले केही भएको छैन छैन भन्दै थे । हामीले हेर्दा झ्याल र ढोकामा सामान्य चर्केको भेटियो । ’ चर्पी जोखिमयुक्त भएकाले मर्मत गर्न आग्रह गरेको बताए ।
विराटनगरको आर्दश बालिका माध्यमिक विद्यालयको भवनमा पठन पाठन गराउन बन्देज गरिएको छ । भूकम्पले गर्दा भवन चर्किएपछि जिल्ला शिक्षा कार्यालयले पठन पाठन नगराउन भनेको स्कुलले जनाएको छ । बालिका स्कुलमा ६सय विद्यार्थी अध्ययनरत छन् । ५० बर्ष अघि बनेको तिनतल्ले भवन प्रवेश गर्न बन्देजलगाइएपछि पठनपाठन सञ्चालन गर्न समस्या भएको प्रध्यानाध्यापक युगुतलाल यादवले जानकारी दिए । उनले भने ‘ जिल्ला शिक्षा कार्यालय, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयलगायत अनुगमन गरेर तत्काल कक्षा कोठमा विद्यार्थीलाई प्रवेश गर्न नदिनु भनेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्