गर्मीबाट भारतमा १७ सय बढीको मृत्यु

गर्मीबाट भारतमा १७ सय बढीको मृत्यु

 

एजेन्सी
चेन्नई । भारतमा बढ्दो तापक्रमका ज्यान गुमाउने व्यक्तिको संख्या एक हजार ७०० सयभन्दा बढी पुगेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
एक हप्तामा एक हजार ७०० व्यक्तिको मृत्यु भएको बताइएको छ । यो दुई दशकयताकै सबैभन्दा बढी भएको जनाइएको छ ।
दक्षिणी भारत प्रचण्ड गर्मीले बलेको र सो प्रकोपमा परी मारिनेहरूमा विशेषगरी निर्माणको काममा लागेका कामदार, वृद्धबद्धा र घरबारविहीन व्यक्ति परेका जनाइएको छ ।
लुका कारण अत्यन्त प्रभावित सहर आन्ध्र प्रदेशमा मात्र गत मे १८ देखि हालसम्म १ हजार ३३४ भन्दा बढी व्यक्ति मारिएका छन् ।
सो संख्या गत वर्षको यसै मौसममा लुबाट मारिएको संख्याको तुलनामा दुगुना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
त्यसैगरी आन्ध्र प्रदेशको छिमेकमा पर्ने तेलङ्गाना राज्यको तापक्रम ४८ डिग्री पुगेको र यसबाट ३४० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ । विगत एक हप्ताअघि ती सहरमा यस्तो हावा चलेको थियो ।
नयाँ दिल्लीस्थित मौसमविद्हरूले हाल भारतको अधिकतम स्थानमा जारी रहेको उच्च तापक्रम आगामी हप्तासम्म रहनसक्ने खतरा रहेको आशंका गरेका थिए ।
केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरू तेलङ्गना र छिमेकमा पर्ने आन्ध्र प्रदेशमा सर्दै गएको बताइएको छ ।
पछिल्ला दिनमा तेलङ्गना र आन्ध्र प्रदेशमा तापक्रम अनायास बढ्न थालेको बताइएको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ ।
आन्ध्र प्रदेशमा त्यहाँका मजदुर एवम् कामदारहरूलाई धेरै लामो समयसम्म दिउँसोको घाममा काम नगर्न आग्रह गरिएको छ ।
कतिपय मारिनेमा मजदुरहरू नै रहेका छन् । उनीहरू लामो समयसम्म दिउँसोको कडा घाममा काम गरेकाले प्रभावित भएको पनि समाचारमा जनाइएको छ ।
स्वास्थ्य अधिकारीहरूले दिउँसोको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिँड्न, पानी प्रशस्त मात्रामा पिउन र चिसो खाद्य पदार्थको सेवन गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्