दृष्टिविहीन दम्पत्तिको सहारा ७ वर्षीया छोरी

दृष्टिविहीन दम्पत्तिको सहारा ७ वर्षीया छोरी

विराटनगर, २३ जेठ : हामी आदर्श सन्तान सम्झनुपर्दा त्रेतायुगका श्रवणकुमारलाई सम्झने गर्दछौं । उनले आँखा नदेख्ने आमाबुबालाई उचित हेरचाह गरेको र जीवनको उतराद्र्धमा तीर्थ गराई उनीहरुको इच्छा पूरा गरिदिएका थिए । त्यो पौराणिक कथा आज चरिचार्थ भएको छ मोरङ उर्लाबारी–२ की एक ७ वर्षीया बालिकाको सन्दर्भमा । ७ वर्षको उमेर, अधिकांश बालबालिका खेलेर समय बिताउन मन पराउँछन् । तर ७ वर्षीया इनिस्ता राईलाई भने खेल्ने समय कमै मात्र हुन्छ । दृष्टिविहीन आमाबाबुको सहयोगी बन्नुमै उनको अधिकांश समय बित्ने गर्छ । उनका बाबुआमा आँखा देख्दैनन् । आँखा देख्न नसक्ने आमा इन्दिरा र बाबु राजकुमार राईका लागि छोरी इनिस्ता जीवन जिउन ठूलो सहारा बनेकी छन् । आमाबाबुलाई डो¥याउनेदेखि ३ महिनाकी बहिनीको हेरचाह र घरधन्दासमेत गर्न थालेपछि आँखा नदेख्ने आमाबाबुका लागि उनी संसार देख्ने माध्यम बनेकी छन् । कथामा सुन्दै आएको त्रेतायुगका श्रवणकुमारभन्दा कम छैनन् इनिस्ता दृष्टिविहीन राजकुमार र इन्दिराका लागि । तर राजकुमार र इन्दिरालाई दृष्टिविहीन हुनुभन्दा बढी पीडा छोरीहरु बिरामी पर्दाको अवस्थामा हुन्छ । भनेको बेला उपचारमा लान नसक्नु र सहयोगीसमेत नभेटिँदा नराम्रोसँग मन दुख्छ उनीहरुको । इनिस्ता अहिले उलार्बारीको सेन्ट स्टेफेन्स स्कुलमा यूकेजीमा पढ्दैछिन् । राजकुमार र इन्दिराको अवस्था देखेर स्कुलले उनलाई निःशुल्क पढाइ दिएको छ । राजकुमार र इन्दिराको भने छोरीहरुलाई धेरै पढाउन सक्ने अवस्था नहुँदानहुँदै पनि डाक्टर बनाउने धोको छ । २०५५ सालमा नेपाल नेत्रहीन संघले गरेको कार्यक्रममा भेट भएर एकअर्कालाई मन पराएका  इन्दिरा र राजकुमारको प्रेम सम्बन्ध भ्mयाँगिँदै गई २०६५ सालमा विवाह बन्धनमा बाँधिएका हुन् । अहिले उनीहरुसँग इनिस्ताबाहेक ३ महिनाकी  अर्की छोरी छन् । माइतीले दिएको जग्गामा खरले छाएको सानो घर बनाएका छन् उनीहरुले । दृष्टिविहीन भएपनि जीवन धान्न उनीहरुले अरुको आस गर्नु परेको छैन । मुढा बनाउने सीप सिकेका राजकुमार र इन्दिरा हातले छामेरै महिनामा २० देखि ३० वटासम्म मुढा बनाउँछन् । मुढा घरबाटै २ देखि ५ सय रुपैयाँमा बिक्री हुन्छ । यसैको आम्दानीले उनीहरुको जीविकोपार्जन हुँदै आएको छ । उनीहरुले अरुलाई समेत मुढा बनाउने तालिम दिने गरेका छन् । मुढा बनाउने सीपलाई उनीहरुले उद्योगको रुपमा विकास गर्ने र आफूजस्तै अन्य दृष्टिविहीनहरुलाई रोजगारी दिने सोच बनाएका छन् । तर आर्थिक अभावका कारण राजकुमार र इन्दिराको सोचले सार्थकता पाउन सकेको छैन ।
Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्