कछुवा गतीमा बिराटनगरको बिकास निर्माण

कछुवा गतीमा बिराटनगरको बिकास निर्माण

विराटनगर,२४ जेठ :

विराटनगरभित्र सञ्चालित विकास निर्माणका काम सुस्त देखिएको छ । विराटनगर उपमहानगरपालिकाले नगरका विभिन्न वडामा सडक विस्तार र ढल निर्माणको कामलाई अगाडि बढाएको छ ।

एडीवीको सहयोगमा सडक र ढल निर्माणको काम भइरहेको छ । वर्षायाम सुरु हुन लाग्दा पनि व्यवस्थित ढल निर्माण हुन नसकेको स्थानीयको भनाइ छ । २ अर्ब ४२ करोड रूपैयाँ बराबरको योजना हाल विराटनगरमा सञ्चालन भइरहेको छ । जुन रकमले सडक विस्तार, नाला र ढल निर्माण गर्ने एडीवीसँग सम्झौता छ । सडक विस्तारका नाममा जताततै घर भत्काएका कारण वर्षामा आवतजावतमा समस्या हुने पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलको भनाइ छ । उनी भन्छन्, “सडक बढाउने नाममा सबै ढललहरू पुरिएको छ । पानीको निकास नहुँदा यसपटक नगरवासीलाई निकै सास्ती हुने देखिन्छ ।”

पानीटंकी–पुष्पलाल चोकको सडक विस्तारको काम दुई वर्षदेखि सञ्चालित छ । अझैसम्म पनि कालोपत्रे हुन सकेको छैन । पानी परेको समयमा यो सडकबाट आवतजावत गर्न सकिने अवस्था छैन । झोराहाट, तेतरिया, नेताचोक, हरैंचा हुँदै विराटचोक जान यही सडक प्रयोग गरिन्छ । यसबाहेक मोरङका दुई दर्जन बढी गाविसका बासिन्दा विराटनगर यही बाटो आउँछन् ।

विकास निर्माणका कामलाई गति दिन उनले माग गरे । उनका अनुसार सञ्चालित कामलाई तीव्रता दिन कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीलाई भेटेर ध्यानाकर्षण गरिएको छ । “नगर क्षेत्रका अधिकांश सडकका दुवैतर्फका घर भत्काइएको छ,” उनी भन्छन्, “घर भत्काउँदा निस्किएका टुक्रा इँटासमेत हटाउने काम भएको छैन ।” सडक विस्तार गरिएका सबैजसो क्षेत्रका नाला पुरिएको छ । सडक मापदण्डमा परेका नगरक्षेत्रभित्रका अधिकांश घरहरू भत्काइएको छ ।

सर्वसाधारणका घर भत्काउन उपमहानगरले हतार गरे पनि विकास निर्माणलाई गति दिने विषयमा चासो नदेखाएको नागरिक अगुवा रामबाबु दाहाल बताउँछन् ।

वर्षा सुरु हुनुभन्दा अगाडि नाला र ढल सफा गर्नुपर्नेमा समेत उनले जोड दिए । “सबै नाला फोहोरले भरिएको छ,” उनले भने, “अब वर्षाको पानीले निकास नपाउँदा सडक जलमग्न हुन्छ ।”

नगर क्षेत्रभित्रका फोहोरमैला व्यवस्थापन, नगरका बिजुलीका पोलहरूमा बत्तीको व्यवस्था, नगरलाई प्लाष्टिक झोलामुक्त सहर बनाउनुपर्ने, भुस्याहा कुकुर र लामखुट्टेको नियन्त्रण गर्नुपर्नेलगायतका माग राखेर कार्यकारी अधिकृत रेग्मीलाई ज्ञापनपत्रसमेत बुझाइसकिएको अध्यक्ष ढुंगेलले सुनाए । “हाम्रा मागको सुनुवाई नभए सशक्त कदम चाल्न बाध्य हुन्छौं,” चेतावनीको शैलीमा ढुंगेलले भन्छन्, “उपमहानगरपालिकाको जनताबाट कर उठाउनेमात्रै काम होइन ।”

कार्यकारी अधिकृत रेग्मीले खानेपानीका पाइप र बिजुलीका पोलका कारण सडक र ढलको निर्माणलाई गति दिन समस्या भएको बताए । “सम्बन्धित कार्यालयलाई पाइप र पोल सार्न ध्यानाकर्षण गराइसकेका छौं,” उनले भने, “उपमहानगरका कारणले मात्रै काममा ढिलाइ भएको होइन ।”

 

Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्