वैशाख महिनाको शुल्क मिनाहाका लागि आन्दोलन

वैशाख महिनाको शुल्क मिनाहाका लागि  आन्दोलन

काठमाडौ. ३० जेठ : विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरूले वैशाख महिनाको शुल्क मिनाहाका लागि निजी तथा आवासीय विद्यालयहरूलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका १३ वटा विद्यार्थी संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी एक महिनाको शुल्क मिनाहाका लागि दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । भूकम्पका कारण एक महिना पूरै पठन–पाठन ठप्प भएकाले निजी तथा आवासीय विद्यालयहरूले अभिभावकलाई एक महिनाको शुल्क मिनाहा गर्नुपर्ने विद्यार्थी संगठनहरूको भनाइ छ ।  निजी विद्यालयहरूको संगठन प्याब्सनले घरभाडा तिर्नुपर्ने र शिक्षकहरूलाई तलब खुवाउनुपर्ने भन्दै एक महिनाको शुल्क मिनाहा गर्न नसक्ने बताएपछि विद्यार्थी संगठनहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आन्दोलनका कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयका अधिकारी र निजी विद्यालय सञ्चालकका गाडी गुड्न रोक लगाइने विद्यार्थी संगठनका नेताहरूले बताएका छन् । उनीहरूले शुल्क मिनाहाका लागि दबाब दिन सबै निजी विद्यालयहरूमा अभिभावकलाई समेटेर संयुक्त संघर्ष समिति बनाउने र आवश्यक परे शैक्षिक हड्ताल गर्ने चेतावनी पनि दिएका छन् । वैशाखको सुरुदेखि जेठ १६ गतेसम्म डेढ महिना विद्यालयहरू ठप्प भए पनि विद्यालय सञ्चालकहरूले त्यस अवधिको ट्युसन, यातायात, खाना, खाजा, अतिरिक्त क्रियाकलापलगायतको शीर्षकमा चर्को शुल्कको विल अभिभावकहरूलाई पठाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्