भूकम्प पीडितलाई बाँडेको कुहिएको चामलका कारण महामारी फैलने सम्भावना

भूकम्प पीडितलाई बाँडेको कुहिएको चामलका कारण महामारी फैलने सम्भावना

विश्व खाद्य कार्यक्रमले गोरखाको लाप्राकका भूकम्प पीडितलाई बाँडेको कुहिएको चामलका कारण त्यहाँ महामारी फैलने सम्भावना बढेको छ । चामलको अवस्थाबारे बुझ्न पुगेको राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले एक दुई दिनभित्र कुहिएको चामलका कारण त्यहाँ महामारी फैलन सक्ने आशंका गरेको हो ।
त्रिपालभित्र भण्डारण गरेर राखिएको चामलमा झिंगा भन्किरहेको र निकै परसम्म दुर्गन्ध फैलिएको सभासद उषा गुरुङले बताउनुभयो । भूकम्प पीडितलाई बाँड्नका लागि त्यहाँ पु‍¥याइएको ४ सय ५७ बोरा चामलमध्ये १ सय २० बोरा चामल पूर्ण रुपमा कुहिएको पाइएको उहाँको भनाई छ । राम्रो चामल भने सर्वदलीय सहमतिमा स्थानीयलाई वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण र वाणिज्य विभागका प्रतिनिधिहरुले चामलको नमुनाको वैज्ञानिक परीक्षणपछि प्रतिवेदन तयार गरिनेछ ।
लाप्राकमा कुहिएको चामल बाँडिएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति अन्तर्गत सभासद भानुभक्त ढकाल नेतृत्वको टोली लाप्राक पुगेको हो । आज गोरखाको मझुवा देउरालीस्थित विश्व खाद्य कार्यक्रमले चामल भण्डारण गरेको ठाउँको अध्ययन गरी सदरमुकाममा सर्वपक्षीय छलफल गर्ने सभासद गुरुङले बताउनुभयो । लाप्राकका बासिन्दाले भने फेरि सहयोग नपाउने हो कि भनेर यसलाई साम्य बनाउन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्