मेडिकल कलेज बन्द हुँदा नौ महिनादेखि विद्यार्थी अलपत्र

मेडिकल कलेज बन्द हुँदा नौ महिनादेखि विद्यार्थी अलपत्र

असार ११, काठमाडौँ । नौ महिनादेखि पठनपाठन ठप्प रहेको जानकी मेडिकल कलेजका विद्यार्थीहरू आफ्नो पढाइ सुचारु गराउन माग गर्दै हाल राजधानीको विभिन्न निकाय धाउँदै छन् । उनीहरू शिक्षा मन्त्रालय, चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सक संघ, मेडिकल काउन्सिललगायतका निकायमा पुगेर अध्ययन सुचारु गर्न दबाब दिइरहेका छन् । ‘नौ महिनादेखि कलेज बन्द छ, कर्मचारीलाई तलब दिइएको छैन, उपकरण छैन, सेयर होल्डरबीचको विवादले हाम्रो करिअर नै समाप्त हुन लागेको छ,’ एमबीबीएस चौथो वर्षका विद्यार्थी सुमन झाले भने, ‘राजधानीमा आएर विभिन्न निकायमा आफ्नो समस्या राखे पनि हालसम्म सुनुवाइ भएको छैन ।’

पठनपाठन बन्दले तीन सय ७० विद्यार्थी प्रभावित भएको उल्लेख गर्दै झा यसमध्ये करिब ७० प्रतिशत नेपाली र ३० प्रतिशत भारतीय विद्यार्थी रहेको बताउँछन् । ‘जानकी मेडिकल कलेज, हस्पिटल बन्द छ, शिक्षक छैनन्, पढाइ लेखाइ केही छैन ।’ त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले विद्यार्थीको समस्याबारे चासो व्यक्त गरेको छ । वर्तमान प्रकरणमा मेडिकल कलेज दोषी रहेको उल्लेख गर्दे आईओएमका डिन प्रा.डा. राकेशप्रसाद श्रीवास्तव भन्छन्, ‘हामी जानकीका विद्यार्थीको समस्या समाधान गर्ने प्रयास गर्दै छौं ।’श्रीवास्तवका अनुसार मेडिकल काउन्सिलबाट अनुमति पाए जानकीको विद्यार्थीहरूलाई अन्य मेडिकल कलेजमा स्थानान्तरण गर्न सकिन्छ ।

जानकीले एक विद्यार्थीबाट सातौं सत्रमा २१ लाख, आठौं सत्रमा २५, नवौं सत्रमा २९ र १०औं सत्रमा ३५ लाख र ११औं सत्रमा ३९ लाख रुपैयाँ शुल्कका रूपमा लिइसकेको चौथो वर्षका विद्यार्थी सशांक ठाकुर बताउँछन् । कलेजका सेयर धनीहरूले गर्दा पठनपाठन बन्द भएकाले तत्काल आफूहरूलाई अन्य मेडिकल कलेजमा सारेर पढ्न दिइयोस् भन्ने माग विद्यार्थीहरूको छ । डिन श्रीवास्तवका अनुसार कलेजले विद्यार्थीहरूबाट लिइसकेको शुल्क फिर्ता दिने जिम्मेवारी सरकारको हो । जानकी मेडिकल कलेजबाट हालसम्म ६ वटा ब्याचअन्तर्गत चार सय ८० चिकित्सक उत्पादन भइसकेका छन् । कन्तिपुर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्