विराटनगर, २२ असार : जिल्ला अनुगमन समितिले विराटनगरमा मापदण्डविपरीत सञ्चालित दुई गुट्खा उद्योगमा सिलबन्दी गरेको छ । जिल्ला अनुगमन समितिले मंगलबार दिउँसो गरेको अनुगमनको क्रममा मापदण्डविपरीत सञ्चालनमा रहेका विराटनगर–५ जामुनगाछीस्थित राधाकृष्ण प्रोडक्टस र विराटनगर–५ कै मधु केमिकल उद्योगलाई सिल गरेको हो । सुर्तीजन्य पदार्थ उत्पादन गर्दा ९० प्रतिशत हानिकारक चित्र राखिनुपर्ने नियम भए पनि ती दुवै उद्योगले तोकिएको मापदण्ड पूरा नगरेकाले सिल गरिएको हो । दुवै उद्योगलाई सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार कारबाही गरिने अनुगमन टोलीले जनाएको छ । गोविन्द खतिवडाले सञ्चालन गरेको राधाकृष्ण प्रोडक्स र भवानी बोहराले सञ्चालन गरेको मधु केमिकल कम्पनीमा सिल गरिएको हो । दुवै उद्योगले गुट्खाको खोलमा स्पष्ट देखिने गरी चेतावनी चित्र राखेका छैनन् ।