विराटनगर, ६ साउन : जैन धर्मावलम्बीहरुको महाकुम्भ चातुर्मासमा सहभागी हुन विराटनगर आउनु भएका आचार्य महाश्रमणले बुधबार बिहान जैन भवनमा प्रवेश गर्नुभएको छ । उहाँको उपस्थितिमा आउँदो ४ महिनासम्म विविध धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ । आचार्य महाश्रमणको विराटनगरमा आगमन हुने भएपछि मलायारोडसहित नगरक्षेत्रको मेनरोड स्वागतद्वार र तुल ब्यानरले सिंगारिएर झकिझकाउ पारिएको छ । आचार्य महाश्रमणको आगमनलाई जैन धर्मावलम्बीहरु मात्र नभई अन्य धर्मावलम्बीहरुले समेत सकारात्मक रुपमा लिएका कारण एकाबिहानैदेखि मलायारोडमा सर्वासाधारणको भीडभाड बढेको थियो । सर्वसाधारणको भीडमा संविधानसभाका सभासदहरुसहित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र वन मन्त्री महेश आचार्यसमेत आचार्य महाश्रमणको स्वागत गर्न पुग्नुभएको थियो । विराटनगर–१७ स्थित साल्टट्रेडिङ अगाडिबाट विभिन्न जातीय सांस्कृतिक झाँकीसहितको टोलीले उहाँको अगुवाई गरेको थियो । आचार्य महाश्रमणले ७ बजेर ५१ मिनेटको साइत जुराएर मेनरोडस्थित जैन स्वेताम्बर तेरापन्थ सभा भवनमा प्रवेश गर्नुभयो । महाश्रमणसँगै भण्डै एक सयजना साधु, साध्वी र समणीहरुसमेत विराटनगर आएका छन् । उहाँको उपस्थितिमा ४ महिनासम्म प्रवचनसहित विविध धार्मिक गतिविधि सञ्चालन हुने र त्यसका लागि आवश्यक तयारी गरिएको आयोजक समितिको भनाइ । महाश्रमणको चातुर्मासिक विराटनगर आवासबाट धार्मिक लाभ लिन बाहिरी मुलुकबाट समेत उल्लेख्य संख्यामा श्रद्धालुहरु विराटनगर आएका छन् । तेरापन्थ सभा भवनमा प्रवेश गरेपछि उपस्थित श्रद्धालुलाई सम्बोधन गर्दै महाश्रमणले सबैको सहयोगले आफ्नो चातुर्मासिक आवास सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिंसा, नैतिकता र नशामुक्तले मात्र मानवको कल्याण हुन सक्ने बताउनुभयो । एकदिनका लागि भए पनि विराटनगरलाई मासु, मदिरा र नशामुक्त घोषणा गरिएको प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । दिल्लीबाट मंसिर २३ गते चातुर्मासाका लागि पैदल हिंडुनु भएका महाश्रमण महाविर जयन्तीको अवसर पारेर नेपाल प्रवेश गर्नुभएको थियो । २ सय २४ दिनको पैदल यात्रापछि महाश्रमण बुधबार जैन भवनमा प्रवेश गर्नुभएको हो । ४ महिनाको आवासपछि मंसिर ९ गते उहाँले भारतका लागि प्रस्थान गर्ने कार्यक्रम छ । यसबीचमा भारतसहित विश्वका विभिन्न मुलुकबाट श्रद्धालुहरु विराटनगर आउनेछन् । अहिंसा, नैतिकता र नशामुक्तको सन्देश छर्दै हिंड्नु भएका तपस्वी महाश्रमणको उपस्थितिबाट सबैले लाभ लिनुपर्दछ ।