चातुर्मास व्यवस्थापन सन्तोषप्रद भएको पाहुनाको भनाई

चातुर्मास व्यवस्थापन सन्तोषप्रद भएको पाहुनाको भनाई

विराटनगर ः विराटनगर चातुर्मासमा सहभागी हुन आएका पाहुनाले यहाँको व्यवस्थापन सन्तोषप्रद भएको प्रतिक्रिया दिएका छन् ।

खासगरी आवास र भोजनका विषयमा आगन्तुकलाई उचित सुविधा दिन उचित प्रबन्ध भएको चातुर्मास व्यवस्थापन समितिले जनाएको छ ।

भारतको चेन्नईबाट आएका रिखबचन्द जैनले यहाँको गर्मीले भने केही समस्या भइरहेको बताउँदै भने,‘उता हाम्रोतिर पनि गर्मी नै छ तर यता केही चिसो होला भन्ने अनुमान गरेका थियौं तर उस्तै रहेछ ।’ तीनसय जनाको समूहमा चेन्नाईबाट सोमबार जैन अनुयायीहरु आइपुगेका छन् । कतिपय रेल र केही बसको यात्रा गरी आइपुगेका हुन् । सन् २०१८ को चातुर्मास चेन्नइमा गराउन पनि अनुयायीले छलफल गरिरहेको बताइन्छ ।

आवास व्यवस्थापन समितिका अनुसार आगन्तुकलाई अतिथि सदनदेखि अस्थायी रुपमा निर्माण गरिएका घरमा बस्ने व्यवस्था गरिएको छ । समितिका संयोजक निर्मल कोचरले भने,‘हामीले सकेसम्म आवासमा उपलब्ध सुविधालाई कमी नहुन दिने प्रयास गरेका छौं ।’ तुलसी, अर्हम बाटिकासहित अन्य अस्थायी आवास क्षेत्रमा अनुयायीको चाप रहेको उनले बताए ।

ती अस्थायी घरहरु भारत र चीनबाट आयात गरिएका हुन् । साउन १४ र १५ गते थप अनुयायीहरु आउने भएकोले आवासमा उपलब्ध सुविधामा कमजोरी हुन नदिन विशेष सर्तकता अपनाइएको कोचर बताउँछन् । विराटनगरमा मंगलबारसम्म चेन्नई, बेङ्लोर, इन्दोर, कटक, सिक्किमलगायत क्षेत्रबाट जैन अनुयायीहरु आइपुगेका छन् ।

यसैगरी भोजन व्यवस्थापनलाई पनि विशेष रुपमा व्यवस्थित गरिएको छ । भोजन व्यवस्थापन समितिका संयोजक प्रसन्नकुमार दुगडका अनुसार अहिले दैनिक ५ सय श्रद्धालुले साँझको नास्ता तथा दिउँसो र रातिको भोजन गरिहेका छन् । खाना बनाउन मात्रै ५ दर्जन कामदार खटिएका छन् भने सहयोगका लागि तेरापन्थ युवक परिषद तथा महिला मण्डलका स्वयंसेवकले सघाइरहेको दुगड बताउँछन् । उनले भने,‘दैनिक पाँच हजार मानिसलाई एकै पटक खाना खुवाउने गरी व्यवस्थापन गरिएको छ ।’ अहिले भक्तजनको आउने क्रम सुरु भइसकेकोले अतिथि सदनको व्यवस्थापनलाई पनि ध्यान दिइएको उनले बताए । सदनमा जैन अनुयायीको लागि खाना र खाजा खाने प्रबन्ध गरिएको छ । बिहान ७ देखि ९ बजेसम्म नास्ता, ११ देखि १ बजेसम्म खाना र साँझ ५ देखि सूर्यास्तसम्म खाना खाने प्रबन्ध भएको सोही समितिका विजय पारखले बताए । चातुर्मासको औपचारिक शुभारम्भ भएसँगै विराटनगरमा चार महिनाभित्र दशलाख जैन अनुयायी आउने अनुमान व्यवस्थापन समितिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्