प्रेम देवान
विराटनगर, ९ भदौ
संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विराटनगर बसपार्कमा अलपत्र परेका करिब २०० मजदुरलाई मजदुर संघ संगठनले गत सोमबार साँझदेखि खाना खुवाउन सुरु गरेका छन् । नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएपछि गन्तव्यतर्फ फर्कन नपाएर अलपत्र परेका यातायात मजदुरलाई पूर्व नेपाल यातायात व्यवसायी संघ मोरङ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले खाना खुवाउन थालेको हो । जिफन्टका कोसी अञ्चल इन्चार्ज किशोर धमलाले मजदुरलाई खाना खुवाउन उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल रात्री तथा दिवा यातायात संघ, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, कञ्चनजंगा पार्टी प्यालेसलगायतका दुई दर्जन बढी संस्थाले सहयोग गरेको जानकारी दिनुभयो । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङका सचिव कृष्ण घिमिरेका अनुसार विराटनगर बसपार्कमा अलपत्र परेका मजदुरलाई बन्द नखुलुञ्जेलसम्मका लागि खाना खुवाउने व्यवस्था गरिएको छ । मजदुर संगठनले यातायातका साधन नचल्दा अलपत्र परेका सर्वसाधारणलाई पनि खाना खुवाउने जनाएको छ । बन्दपछि विराटनगर बसपार्कमा थन्किएका सवारी साधनका मजदुरहरु रातको समयमा गाडिमै सुत्ने गरेका छन् ।