सफ्टवेयरको सहयोगमा अपहरण

<span class='c1'>सफ्टवेयरको सहयोगमा</span> <span class='c2'>अपहरण</span>

तीन जना भारतीय युवाको बिर्तामोडबाट उद्दार, ५ अपहरणकारी पक्राउ

झापा । विभिन्न प्रकारका सफ्टवेयर डिजाइन गर्दै मानव अपहरणमा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । झापामा रहेर लामो समयदेखि अन्तर्राष्ट्रिय अपराध गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । शनिअर्जुन–५ (मुक्तिचोकेदखि डेढ किमि उत्तर) मा अपहरणकारीले ८ दिनदेखि ३ जना भारतीयलाई बन्धक बनाएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, क्षेत्रीय प्रहरी ब्यूरो तथा झापा प्रहरीको विशेष टोलीले सन् २०१३ देखि निरन्तर रुपमा अन्तर्राष्ट्रिय अपराध गर्न गिरोह चलाएर बसेका भारतको गोरखपुर घर भएका ३६ वर्षीय सुनिलकुमार सिंह सहित ५ जनालाई पक्राउ गरिएको हो । अपहरण गरिएका तीन जना भारतीय युवासँगै ५ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको थियो । भारत राजस्थानका ३२ वर्षीय कमलेश भाटी, सोही स्थानका ३६ वर्षीय बिनोदकुमार साखला र गुजरातका २६ वर्षीय जिगिर अशोकभाई पमारलाई बन्धक बनाइएको अवस्थाबाट प्रहरीले उद्धार गरेको हो ।
विगत तीन वर्ष यता झापाका विभिन्न स्थानमा भारतबाट अपहरण गरेर ल्याइएका भारतीयहरुलाई बन्धक बनाएर रकम असुल्ने कार्यमा संलग्न रहेका दुई नेपाली तथा तीन भारतीयलाई एक हप्ताको विशेष निगरानीमा प्रहरीको टोलीले पक्राउ गरेको हो । अपहरणकारीमा भारत पञ्जाबका २९ वर्षीय रञ्जित सिंह, सिद्धार्थनगर–८ भैरहवाका २८ वर्षीय ओमकुमार काहार, कविलासा–२ सप्तरीका ३२ वर्षीय सन्तोषकुमार चौधरी र वनौला–१ सप्तरीका ३६ वर्षीय सुशीलकुमार चौधरीलाई शरीर बन्धक तथा अवैध रकम असुल्ने कार्य गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।
सीपमा आधारित रोजगारी प्रदान गर्ने विज्ञापन फेसबुक मार्फत् प्रसारण गरेर भारतीय बेरोजगार धनाढ्य युवाहरुलाई सम्पर्कमा ल्याई अष्ट्रेलिया पठाउने बहानामा नेपालतिर ल्याएर शारीरिक, मानसिक यातना दिने र रकम असुली गरेपछि छोडिदिने कार्य गरिरहेको सो गिरोहले नेपालका विभिन्न स्थानलाई अवैध असुलीका लागि प्रयोग गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
२३ वर्षयता नेपालमा बसेका सुनिलकुमार सिंह भारतीय कुख्यात अपराधी बिहारका पप्पुदेव यादवको सहयोगी भएर काम गरिरहेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नेपाली केटीसँग विवाह गरेर नेपालमै बसिरहेका सिंहले पप्पुदेवका लागि विभिन्न समयमा २४ लाख ६९ हजार ५ सय रुपैयाँ खर्च गराएर नेपालबाट छुटाएको प्रमाण पनि भेटिएको झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए । पक्राउ परेका ती व्यक्तिहरुबाट नगद ४२ हजार नेपाली रुपैयाँ, अमेरिकन पेस्तोल १ थान र सो पेस्तोलमा प्रयोग हुने गोली १९ राउण्ड, खुकुरी, मोबाइल सेट १५ थान तथा नेपाली र भारतीय सीमकार्ड ३६ थान, पत्रकार र अधिकारकर्मीको परिचय पत्र, बा.४३ प ९३४४ न.को १ थान मोटरसाइकल, अपहरणमा प्रयोग भएको को. १ च ८७१७ नम्वरको महिन्द्रा कम्पनीको कार १ थान लगायत बरामद गरिएको छ । यसै समूहले गत वर्ष बिर्तामोडस्थित पञ्चकन्या प्लटिङमा १६ जना नागरिकलाई अपहरण गरी फिरौती मागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लामो समयदेखि प्रहरीले अनुसन्धान अगाडि बढाए पनि घरबाट एकैपटक पक्राउ गर्न दुई दिन लागेको थियो ।
यसरी ल्याइए युवा
अपहरणकारीले विज्ञापनमार्फत् सम्पर्कमा आउनेलाई धेरैपटक काउन्सिलिङ गरेको बुझिएको छ । धनाढ्य परिवारको सदस्य भन्ने थाहा पाएपछि उनीहरुले सुरक्षित स्थानहरुमा पुर्याउने गरेका छन् । तीन भारतीयलाई समेत अष्ट्रेलियाका लागि सम्पूर्ण तयारी गरेर कलकत्ताबाट जाने भन्दै बागडोग्रा ल्याएका थिए । अगस्त २९ तारिख घरबाट हिँडेका उनीहरुलाई सेप्टेम्बर २ तारिख बिर्तामोड ल्याएका थिए । शुक्रबार उद्दार गरिएको घरमा ८ दिन राखिएको उद्दारमा संलग्न एक सदस्य बताउँछन् । बन्धक युवालाई स्थलमार्ग हुँदै दिउँसै सो घरमा पुर्याइएको थियो । पीडित युवालाई अष्ट्रेलिया पुगेरै पैसा दिन अपहरणकारीले भनेका थिए ।
पीडित परिवारलाई अष्ट्रेलियाकै प्रमाण
अष्ट्रेलिया हिँडेका तीन युवाले घरमा पटकपटक सम्पर्क गर्न पाए पनि उनीहरुले आफू कहाँ आइपुगिएको छ भन्नेबारे बताउन पाएनन् । अनुसन्धानमा संलग्न प्रहरी भन्छन् –‘गन तेस्र्याएर फोनमा कुरा गर्न लगाइएको पाइयो ।’ गनको डरले ती युवा अष्ट्रेलिया पुगेकै जानकारी दिँदै आएका थिए । युवाहरुले प्रयोग गर्ने टेलिफोन विशेष प्रविधि जडान गरेर अष्ट्रेलियाकै नम्बर देखाउने गरेको रहेछ । बन्धक बनाइएको घरमाथि विशेष प्रकृतिको एन्टेना राखिएको थियो । अपहरणकारीहरु मध्ये एक जना सफ्टवेयर डिजाइनर रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । पीडितलाई प्रयोग गर्न दिइने फोनमा उनीहरुको सफ्टवेयर जडान थियो । घरबाट हिँडेका युवाले बाटोबाट समेत घरमा फोन सम्पर्क गरेका थिए । उनीहरुले सम्पर्क गर्दा साँचो स्थान घरमा पुग्दैन थियो । त्यहाँ पनि सफ्टवेयरको प्रयोग गरिएको प्रहरीले जनाएका छन् ।
घरधनीलाई एसपीको सुझाव
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक ठाकुरप्रसाद ज्ञवालीले घर भाडामा दिँदा सतर्कता अपनाउन सुझाव दिएका छन् । उनले भाडामा बस्न चाहनेको आधारभूत जानकारी लिनुपर्ने बताए । ‘घरधनीले पैसा मात्र खोजेर हुँदैन,’ एसपी ज्ञवाली भन्छन्–‘कसैको सिफारिस बिना भाडामा बस्न दिनु राम्रो होइन ।’ घरभाडा खोज्दै आउनेको आधिकारिकता हेरौं, आबद्धताका बारेमा बुझौं, एसपी ज्ञवालीले भने । अस्वाभाविक र जति पनि भाडा तिर्न तयार हुनेहरु प्रति सचेत रहनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्