“मधेशवादी दल वार्तामा आउ” – प्रमुख तीन दल

“मधेशवादी दल वार्तामा आउ”  – प्रमुख तीन दल

काठमाडौ, असोज २ :

प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले जायज मागलाई संविधान संशोधन गरेर पूरा गर्न तयार रहेको भन्दै असन्तुष्ट मधेशवादी दललाई वार्तामा आउन आव्हान गरेका छन् । तीन दलका शिर्ष नेताले  अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी मधेशवादी दलहरुले उठाएका अधिकांश माग संविधानले सम्बोधन गरेको र प्रदेशको सीमांकनको विषय संघीय आयोगको सिफारिस अनुसार सम्बोधन गर्ने भन्दै वार्तामा आउन आव्हान गरेका हुन् । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेशवादी दलले उठाएका कतिपय माग रुपान्तरित संसद्बाट सम्बोधन गर्न सकिने भन्दै संविधानसभाबाट संविधान पारित भएको क्षण सबैका लागि गर्व र विजयको विषय भएकाले आफूहरु संविधान घोषणा उत्सवमा कोही पनि नछुटुन भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँहरुले सहमतिका लागि अझै पनि समय रहेको भन्दै विरलै आउने अवसरलाई विजय उत्सवका रुपमा मनाउनका लागि तयार हुन मधेशवादी दलहरुलाई आग्रह गर्नुभयो । प्रमुख दलका शिर्ष नेताहरुले संविधानमा समावेशी समानुपातिक र निर्वाचन क्षेत्र सम्बन्धी मागलाई सम्बोधन गरिएको तथा सीमांकनका बारेमा पनि आफूहरु संकीण नरहेको समेत बताए । भारतले आफ्ना विदेशसचिव एस जयशंकरलाई विशेष दूतका रुपमा पठाएर प्रमुख दलका नेताहरुसामु मधेशवादी दलहरुलाई सहमतिमा ल्याइ संविधान जारी गर्नु उत्तम हुने बताएपछि तीन दलका शिर्ष नेताहरुले सीमांकनका बारेमा आफूहरु संकीण नरहेको बताएका हुन् । तीन दलका शिर्ष नेताहरुले आफूहरु वार्ताबाट समाधान खोज्न तयार रहेको अवस्थामा मधेशवादी दलहरुको आन्दोलनको औचित्य नरहेको पनि बताए । यसैबीच, तीन दलले संविधान जारी भएको खुशीयालीमा असोज ४ गते टुँडिखेलमा संयुक्त सभा गर्ने भएका छन् । विभिन्न स्थानबाट ¥याली निकालेर अपरान्ह १ बजे विजय सभा गरिने नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्