लिम्बुवानले नयाँ तरिकाले आन्दोलन गर्ने

लिम्बुवानले नयाँ तरिकाले आन्दोलन गर्ने

 

लिम्बुवान संयुक्त सङ्घर्ष समितिले चार दिनदेखि जारी अनिश्चितकालीन आमड्तालपश्चात आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको छ । सङ्घर्ष समितिले जारी लिम्बुवान आन्दोलनको समीक्षा गर्दै मोडालिटी परिवर्तन गरिएको जनाएको छ ।
बुधबार सम्पन्न शीर्षस्थ नेताहरूको छलफलपश्चात् आन्दोलनको स्वरूप केही हेरफेर भएको प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

आन्दोलनको शैली परिवर्तनलाई धेरैले महत्वपूर्ण रणनीतिक कदमका हिसाबमा लिएका छन् । लिम्बुवान आन्दोलनलाई उचाइमा पुर्‍याउन एकीकरण, मोर्चाबन्दी, सहकार्य र सहयोगको कार्यलाई निरन्तरता दिने पनि समितिले निर्णय गरेको छ ।

समितिले केही कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ । ‘लिम्बुवान राज्यको राजनीतिक उपयोगिता सिद्ध गर्न राजनीतिक रूपरेखा र थातथलो खुलेका एवम् लिम्बुवानवासी जनसमुदायको स्वशासन, स्वशासित इलाका निर्माण लागि राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गर्नेछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिले अरूण–सप्तकोशीपूर्व लिम्बुवान क्षेत्रका नौ जिल्लाहरूमा विरोध प्रदर्शन गर्ने, लिम्बुवान लेखिएको झण्डा फहराउने, सरकारी कार्यालयहरूमा लिम्बुवान लेखिएको बोर्ड झुन्ड्याउने कार्यक्रम तय गरेको सङ्घीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले जनाए ।

अध्यक्ष लिङ्देनले भने, ‘विरोध कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा लानेछौं । आन्दोलनविरोधीहरूको कालो सूची पनि तयार पार्दैछौं ।’ उनले थप तयारीका साथ अहिलेको भन्दा कडा सङ्घर्षका कार्यक्रम ल्याउने बताए पनि सो बारे विस्तृतमा बोल्न चाहेनन् ।

समितिले आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताहरूको अविलम्ब रिहाइको माग पनि गरेको छ । आइतबार यता मात्र सङ्घर्ष समितिका दुई दर्जन बढी आन्दोलनकारीहरू पक्राउ परिसकेका छन् ।

विरोध प्रदर्शनअन्तर्गत आठ ठाउँमा कार्यक्रमहरू तय गरिएका छन् । जसमध्ये सङ्घीय लिम्बुवान पार्टीले दमकमा, सङ्घीय समाजवादी फोरमले इलाम, धनकुटा र मोरङको केराबारीमा हुने सभाको जिम्मा लिएको छ ।

त्यस्तै, नेकपा–माओवादीले बिर्तामोड र फिदिम, सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टीले ताप्लेजुङ र सङ्खुवासभामा हुने सभाको संयोजन गर्ने भएको छ ।

त्यसैगरी, सुनसरीमा हुने राष्ट्रिय राजनीतिक सम्मेलनका लागि समन्वयकर्ता संस्था याक्थुङ चुम्लुङ र लिम्बुवान मुक्ति मोर्चा नेपालले जिम्मेवारी पाएको छ । समितिले मधेश, थरूहट, तमुवान, मगरातको आन्दोलनमा पनि विज्ञप्तिमार्पत दृढ समर्थन व्यक्त गरेको छ ।

Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्