सिंहदरबार भित्रका अड्डाले पेनड्राइभ खरीदमा बजार मूल्यको ५०० प्रतिशत भन्दा महंगो बिल पेश गर्नुले त्यहाँभित्र हुने अनियमितताको हद देखाउँछ ।
तुफान न्यौपाने
चार जिबी पेनड्राइभको बजार मूल्य कति होला ? कम्प्युटर र यसका पाट्र्सका देशैभरका विक्रेताहरु आवद्ध भएको संस्था कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) का अनुसार चार जिबिको पेनड्राइभ रू.४०० सम्ममा आउँछ । त्यस्तै ३२ जिबीकोलाई रू.१५०० भन्दा बढी पर्दैन । तर सिंहदरबारभित्रका विभिन्न निकायले गत वर्ष पेनड्राइभ खरीद गर्दा यसको ५०० प्रतिशत बढीसम्म मूल्य तिरेका छन् ।
सूचनाको हकको प्रयोग गरी प्राप्त भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि मन्त्रालय, सहकारी विभाग, दलित आयोग र सार्वजनिक खरीद अनुगमन कार्यालयले पेनड्राइभ खरीद गरी पेश गरेका बिल, ती निकायका खरीद आदेश र सामग्री दाखिला प्रतिवेदनहरूबाट यो तथ्य फेला परेको हो । फ्रिडम फोरमले सूचनाको हक प्रयोग गरी संकलन गरेका यी विवरण केलाउँदा चार जिबीकोलाई रू.२ हजार र ३२ जिबिकोलाई रू.७ हजारसम्म तिरेको भेटियो ।
रोचक के छ भने, एउटै हाता सिंहदरबारभित्रका यी निकायले पेश गरेका बिल बजार मूल्य भन्दा कैयौं गुणा महंगा त छन् नै, त्यसबाहेक एउटै विक्रेताबाट किनिएका सामग्रीको मूल्य पनि मन्त्रालयपिच्छे फरक छ । जस्तो, अर्थ मन्त्रालयले बबरमहलको मस्र्यांदी इन्टरप्राइजेज (भ्याट नं.३०१४३९४४४) बाट २३ मंसीर २०७० मा चार जिबीका चार थान र आठ जिबीका दुई थान पेनड्राइभ क्रमशः रू.२ हजार र रू.३५०० दरमा खरीद गरेको छ । तर कृषि मन्त्रालयले मस्र्यांदी इन्टरप्राइजेजबाटै दुई पटक १० र २३ चैत २०७० मा गरी चार जिबीका १० थान र आठ जिबीका १२ थान पेनड्राइभ क्रमश रू.३७५ र रू.५०० दरमा किनेको छ ।
तर, अर्थ मन्त्रालय र सार्वजनिक खरीद अनुगमन कार्यालयले वर्षभरमा छुट्टाछुट्टै बिक्रेताबाट फरक–फरक मितिमा खरीद गरेको पेनड्राइभको मूल्य भने साइज (जिबी) अनुसार एउटै देखाएका छन्, अपत्यारिलो लाग्ने गरी ।
महंगो अर्थ मन्त्रालय
अर्थ मन्त्रालयले ७ साउन २०७० देखि १८ मंसीर २०७१ सम्म खरीद गरेका लाखौंका स्टेशनरी सामग्रीमध्ये ४, ८, १६ र ३२ जिबीका गरी ११८ वटा पेनड्राइभ किन्न रू.४ लाख २७ हजार ५०० खर्चेको छ । यसले औषतमा एउटा पेनड्राइभको मूल्य रू.३६०० भन्दा बढी परेको देखाउँछ । अर्थले यो खरीद मस्र्यांदी इन्टरप्राइजेज, ग्लोबल डिजिट्रोनिक्स, एरिसेन्ट नेपाल, प्रशान्त इन्टरप्राइजेज, प्रिमियम ट्रेडिङ इन्टरनेशनल, हिमांशु कन्सल्ट्यान्ट, जयगणेश सप्लायर्स र कृष्ण स्टेशनगरी एण्ड जनरलबाट गरेको थियो । अचम्म, झण्डै डेढ वर्षको अन्तरमा ८ विक्रेताबाट १७ पटक गरिएको खरीदमा दर एउटै देखाइएको छ–चार जिबीकोलाई रू.२ हजार, आठ जिबीकोलाई रू.३५००, १६ जिबीकोलाई रू.४५०० र ३२ जिबीकोलाई रू.७ हजार (हे. बिल) । हामीले बिल, खरीद आदेश र दाखिला प्रतिवेदन केलाएका ८ निकायमध्ये यो नै सबैभन्दा महंगो दर हो । जुन् बजारमूल्य भन्दा करीब ५०० प्रतिशत बढी हुनआउँछ ।
यीमध्ये अधिकांश विक्रेताका बिलमा ठेगाना र सम्पर्क नम्बर छैनन् । सार्वजनिक खरीद अनुगमन कार्यालयले ८ पटक गरी चार, आठ र १६ जिबीका २७ पेनड्राइभ रू. ३३९५० मा कुशेश्वर इन्टरप्राइजेज् र आर क्यू ट्रेड एण्ड जनरल अर्डर सप्लायर्सबाट खरीद गरेको थियो । हामीले खोजी गर्दा अनामनगर ठेगाना लेखेका ती दुवै पसले भेटिएनन् । विक्रेता करदाता नम्बर ३०१९४३१४५ भएको आर क्यू ट्रेड एण्ड जनरल अर्डर सप्लायर्सको ८५ नम्बर बिलमा उल्लेखित मोबाइल नम्बरमा सम्पर्कमा आएका व्यक्तिले नाम र आफ्नो कारोबारबारे बताउन चाहेनन् । २२ जेठ २०७१ को मितिमा सार्वजनिक खरीद अनुगमन कार्यालयको नाममा सप्लायर्सले पेनड्राइभ, कोलिन, फलाटिन कपडा, चक्कु, नाङ्लो तथा केही थान सार्वजनिक खरीद ऐन र मुलुकी ऐन बिक्रीको रू.१५ हजार ९९४ को बिल पठाएर भुक्तानी लिएको थियो । सार्वजनिक खरीद अनुगमन कार्यालयले कारोबार गरेको अर्को विक्रेता ३०१६०९६९२ करदाता नम्बर भएको कुशेश्वर इन्टरप्राइजेज्ले १३ साउन २०७१ मा काटेको ००३ नम्बर बिलमा उल्लेखित मोबाइल नम्बरमा सम्पर्कमा आएका व्यक्तिले पनि आफ्नो नाम बताएनन् । उनले कारोबारबारे बुझ्न चाहेमा आफ्नो भाइलाई सम्पर्क गर्नु भन्दै अर्को नम्बर टिपाए, जुन् आर क्यू ट्रेड एण्ड जनरल अर्डर सप्लायर्सको बिलमा उल्लेखित नम्बर थियो । फरक–फरक नामका यी पसल एउटै व्यक्ति÷समूह अन्तरगत सञ्चालित रहेछन् ।
प्राप्त सूचनामा आधारित तथ्य विवरण केलाएका निकायमध्ये सबैभन्दा सस्तो दरमा कृषि विकास मन्त्रालयले खरीद गरेको भेटियो । १३ भदौदेखि २३ चैत २०७० को बीचमा कृषिले ११ पटकमा ५२ पेनड्राइभ किन्न रू.३१ हजार ४४५ खर्चेको छ । औषतमा एउटा पेनड्राइभको मूल्य रू.६०५ पर्न आउँछ । अन्य निकायले विभिन्न मितिमा फरक–फरक विक्रेतासँग फरक–फरक मूल्यमा पेनड्राइभ खरीद गरेका छन् । तिनमा कुनै एकरुपता देखिदैन । त्यहाँ एउटै कुराको समानता छ, त्यो हो–एउटै हाताभित्रका ती निकायले खरीद गरेको दर एक–अर्कामा निकै तलमाथि र बजार मूल्य भन्दा धेरै महंगो हुनु ।
Source : Freedom Forum