-तेजन खड्का
उर्लाबारी १३ कात्तिक । नेकपा एमालेका मोरङ क्षेत्र नम्बर १ का सांसद ऋषिकेष पोखेरेलले आफूले पैसा खाएको प्रमाण सार्वजनिक गरिदिन सांसद राज्यलक्ष्मी गोल्छासँग आग्रह गरेका छन् ।
पोखेरलले आफूसँग १० लाख लिएको भन्दै पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिको अडियो सार्वजनिक भएपछि सांसद पोखरेलले भने -‘म उनलाई आग्रह गर्दछु, यसको प्रमाण र तत्थ्य सार्वजनिक गरिपाउँ ।’
पत्रकार सम्मेलनमा गोल्छाले आफूसँग लिखित प्रमाणहरु रहेको बताएकी थिइन् ।
तर, सांसद पोखरेलले आफ्नो राजनीतिक प्रतिष्ठाविरुद्ध गोल्छा लागिपरेको बताएका छन् । उनले भने- ‘करिब २५/३० वर्षको यात्रामा कहिल्यै पनि ममाथि कसैले नैतिक र आर्थिक प्रश्न गरेन, म पनि यसमा सचेत छु ।’
पार्टीले राजीनामा गर्न आग्रंह गरेपछि गोल्छाले त्यसको बदलामा आफूविरुद्ध भ्रमपूर्ण प्रचार गरेको पोखरेलको स्पष्टीकरण छ ।
सांसद पोखरेलले राज्यलक्ष्मीको आलोचना गर्दै भने- ‘संविधान निर्माणमा कुनै सहयोग गरिनन् । एकदिन पनि सदनमा बोलिनन् । संविधानको अन्तिम प्रकृया मतदान गरिनन् । कुनै समितिको बैठकमा भाग लिइनन् । प्रधानमन्ंत्रीको निर्वाचनमा झुक्याएर भाग लिइनन् ।’
उनले थपे- ‘यी सबै प्रकृयामा एउटा दलको सदस्य भएर अरु दललाई अप्रत्यक्ष सहयोग गरिन् । त्यसैले दलीय व्यवस्था अनुसारनै राजीनामा गर्न दलले भन्यो । त्यसको बदला उनले मेरो नाममा समेत झुट र भ्रमपूर्ण समाचार बनाइन् ।
गोल्छाले प्रमाण र आधारहीन कुरा गरेर आफ्नो चरित्र हत्या गरेकोमा दुःख लागेको पोखरेलले बताए ।