बिराटनगर माघ ७
दुई दिनदेखि बिग्रिएको देशभरको मौसममा आजदेखि सुधार आउने भएको छ । मौसमविद्हरुले काठमाडौं उपत्यकासहित देशभरको मौसममा सुधार आउने बताएका छन् । दिउँसोबाट पश्चिम र मध्य नेपालमा मौसममा सुधार आउने छ । तर यता विराटनगर लगायत पूर्वी नेपालमा भने भोलिबाट मात्रै मौसममा सुधार आउने छ । अरब सागरबाट र बंगालको खाडीबाट आएको हावा मध्य भारतमा मिसिएर उत्तरपूर्वतर्फ सर्दै गएकाले त्यसको प्रभाव नेपालमा परेको मौसमबिदहरुले बताएका छन् ।पूर्वी क्षेत्रमा गए राति भएको वर्षाका कारण चिसो बढे पनि किसानहरु भने लाभान्वित भएका छन् । गहुँका साथै तरकारी बालीलाई वर्षाले फाइदा पु¥याएको छ । धानको उत्पादनमा कमी आएपछि किसानले यसपटक सिँचाई सुविधा नभएको क्षेत्रमा पनि गहुँ खेती गरेका छन् । त्यस्ता किसानले यस वर्षाबाट राहतका अनुभूति गरिरहेका छन् ।
पूर्वी क्षेत्रमा चिसोको अत्यधिक प्रभाव नदेखिएको अवस्थामा गए रातिको वर्षाका कारण विराटनगर लगायत पुर्वी शहरमा चिसो केही मात्रामा बढेको छ ।