मोरङ , माघ १०
मोरङ र सुनसरी जिल्लाको दुई स्थानमा शनिबार राती बसको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको बयरवन ९ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको बसले पैदलयात्री महिलालाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ। अन्दाजी ५० वर्षिया मृतक महिलाको नामथर वतन खुल्न सकेको छैन।
सांझ करिब ६ बजे उनलाई पैदल हिड्दै गरेको अवस्थामा बा. ३ ख ६३९१ नम्बरको बसले ठक्कर दिएको थियो ।
त्यस्तै सुनसरीको ईटहरी नगरपालिका २४ स्थित सेउती खोलामा शनिबार सांझ बसको ठक्करबाट मोटरसाइकल चालक सुनसरी धरान निवासी ४० वर्षिय राजेन्द्र नेपालको मृत्यु भएको छ।
को. १५ प ५९०८ नम्बरको मोटरसाइकलमा ईटहरीबाट धरानतर्फ जादै गरेका नेपाललाई सांझ ७ बजेतिर सोही दिशातर्फ जादै गरेको को. १ ख १८१९ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो।
दुबै घटनामा संलग्न बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।