मैले छाेडेकाे घर: जतुवाबाट बसाइ सर्न बाध्य परिवारकाे कथा

मैले छाेडेकाे घर: जतुवाबाट बसाइ सर्न बाध्य परिवारकाे कथा

-ज्वाला दाहाल

"यो घर वनाँउदा तिमी जन्मिएकै थिएनौ । तिम्री ठुली दिदी त एक वर्षकी थिईन् ।" बुवा मलाई भन्नुहुन्थ्यो । मैले एकदिन उहाँलाई घर जेठो कि म जेठो भनेर सोधेको थिँए । स्कुलमा साथीहरुले त्यस्तै सोधेर आउनु भनेका थिए ।
"यो तुलसाको मठ पनि तिमी भन्दा जेठो हो ।" आमा पनि मलाई जिस्काउनुहुन्थ्यो ।
म परिवारकी सवैभन्दा कान्छी छोरी । सवैले मलाई माँया गर्नुहुन्थ्यो । मैले भनेका सानातिना कुराहरु दिदीहरुले भनेको भन्दा पहिला पुरा हुन्थे । मलाई उहाँहरुले अलिक वढी माँया गर्नुहुन्थ्यो जस्तो लाग्थ्यो तर हैन रहेछ । म सानी भएकाले मेरा माग पनि सानै हुँदा रहेछन् । त्यसैले चाँडै पुरा हुँदा रहेछन् ।
मलाई थाहा हुनुभन्दा अगाडिको त म केहिपनि वताउन सक्दिन तर मलाई थाहा भएदेखि चाँहि मलाई आफ्नो घर मनपर्थ्यो । त्यसका हरेक चिजसँग गहिरो मित्रता थियो मेरो । अध्याँरोमा हिँड्दा पनि कहाँ छु भनेर सजिलै थाहा पाँउथे म ।
त्यही घरमा कति धेरै पलहरु विते । सानोमा स्कुलबाट फर्किँदा खेल्न तिर लागेर घर आउन ढिलो हुन्थ्यो । म डराउँदै आँउथे । त्यसवेला घरको गेट परबाटै देख्दा पनि भित्र कतै डर पसिहाल्थ्यो । म कसैले थाहा नपाउनेगरी भित्र पस्न खोज्थेँ तर वुवाले थाहा पाईहाल्नुहुन्थ्यो। त्यसकै अगाडी आगनमा म कुटाई खान्थेँ । अनि रुँदै त्यही घरभित्र छिर्थेँ ।

साईकिल पहिलोपटक किनिदिनुभएको थियो वुवाले । म सिक्न जाँन्थे । घर अगाडी वाटो थियो । पहिला त ग्रावेल मात्र गरिएको थियो तर पछि पिच भयो । मैले त्यहिँ बाटोमा साईकल सिकेँ । जान्ने नहुन्जेल सम्म त स्कुलबाट फर्किँदा पनि घर गएर साईकल चलाउने भन्ने संझेर आनन्द लाग्थ्यो ।
मेरो घरको गेटले गल्ती नगर्दा कहिल्यै पनि मलाई डर देखाएन ।

कहिलेकाँहि स्कुलबाट फर्किँदा घरमा केहि पाकिरहेको हुन्थ्यो। म परबाटै वास्ना थाहा पाँउथे । गएर हेर्दा खाजा पाकिरहेको हुन्थ्यो । त्यसवेला मलाई घर सवैभन्दा मन पर्थ्यो ।
दिदीहरुले मलाई कहिलेकाँहि जिस्काउनु हुन्थ्यो । म प्राय त हाँस्थे तर कहिलेकाँहि भने सारै रिस उठ्यो । म उहाँहरुलाई कुट्न भनेर खेदाउँथे । कहिलेकाँहि मैले नै केहि भन्दा उहाँहरु रिसाएर मलाई खेद्नुहुन्थ्यो । म भाग्थेँ । यस्ता धेरै पलहरु पनि त्यहि घरसँग थिए ।
वर्षेनी चाडहरु आँउथे । दशै¸ र छठ मलाई सवैभन्दा वढि मनपर्थे । तिहार पनि मन नपर्ने हैन तर आफ्नै दाजुभाई नभएकाले अलिक कम मात्र रमाईलो लाग्थ्यो । पछि सरोज¸ मनोज¸ मुस्कान दादाहरु भेटिएपछी भने तिहार पनि रमाईलो लाग्न थाल्यो । दशैमा नँया लुगा र जुत्ता किन्न म गनगन गर्ने । धेरैजसो मेरा विषय पारित हुन्थे । सामान नकिनुन्जेल मलाई कहिले वजार जानु र किन्नु भनेर छटपटी हुन्थ्यो र किनिसकेपछि कहिले घर पुगेर लगाईहेर्नु जस्तो हुन्थ्यो । वावामामु सुत्ने कोठामा भएको ठुलो गोदरेजको ऐनामा हेर्नथ्यौ हामी नँया सामान लगाईहेरेर ।
तिहारमा हामी देउसी खेल्न जान्थ्यौ । टोलका सवै साथिहरुको घरमा जाने नियम हुन्थ्यो । साथीहरुलाई हाम्रो घरमा र हामीलाई साथिहरुको घरमा नाच्न लगाउनुहुन्थ्यो । हामी नाँच्थ्यौ । खुव नाँच्थ्यौ ।
छठमा पनि हामी पुजा गर्थ्यौ । गाँउमा पुरै रौनक हुन्थ्यो । नजिकैको नहरमा मानिसहरुको भेट लाग्थ्यो । मलाई त प्राय साथिहरुले बोलाउँथे । म उनिहरुकोमै जान्थेँ । साथीको ममी ड्याडीले पनि मलाई प्यारो गर्नुहुन्थ्यो । उहाँहरु मलाई आफ्नै बाबामामु जस्तै लाग्थ्यो ।
म विरामी पर्दा त्यही घरमा मेरा साथिहरु मलाई भेट्न आँउथे । के के किन्दिएर पनि ल्याँउथे । मलाई उनिहरु आएको मनपर्थ्यो । मैले नयाँ सामान ल्याएको वेला हेर्न पनि उनिहरु आँउथे । बाबाले साईकल किन्दिने कुरा पनि मैले सवैभन्दा पहिला साथिहरुलाई सुनाएको थिँए । मलाई पनि चलाउन दे है भनेकी थिई उसले । उसलाई चलाउन नदिई मलाई पनि त के मजा? मैले साईकल सिकेपछि सवैभन्दा पहिला उसैलाई चढाएर घुमाएको थिँए ।
नजिकैको स्कुलबाटै मैले एस एल सी दिँए । राम्रै अंक ल्याएर पास भँए । घरमा सवैले मलाई टिका लगाईदिएर वधाई दिनुभएको थियो । बुवाले ल्याईदिनुभएको लड्डु मैले वरपर छिमेकमा सवैलाई खुवाएको थिँए ।
वरपर घर भएका हामी वेलुकापख खेल्न निस्कन्थ्यौ । कहिले मिलेर फर्किन्थ्यौ त कहिले झगडा गरेर । वेलुका घर आएपछि संझिदा पनि खुव रिस उठ्थ्यो । अव देखि त्यो सँग खेल्न जाँदिन जस्तो पनि हुन्थ्यो । तर भोलिपल्ट खेल्न पुग्नासाथ उ नै नभई हुँदैन थियो ।
"घरनजिकै खेल्नु । धेरै टाडा नजानु ।" आमा भन्नुहुन्थ्यो । कहिलेकाँहि हाम्रो घरमा पुजा लगाईन्थ्यो । आमाले साथिहरुलाई पनि वोलाएर प्रसाद खुवाउनुहुन्थ्यो । कुनैकुनै पुजामा त प्रसाद बाँढ्नलाई वुवा गाँउमा पनि जानुहुन्थ्यो ।
बाबाहरुको पनि भेटघाट भैरहन्थ्यो । टोलको खै के के को वैठकमा उहाँहरु भेला भईरहनुहुन्थ्यो । घर अगाडिको बाटो वनाउने वेलामा पनि उहाँहरुले मिलेर नगरपालीकामा निवेदन दिनुभएको थियो । बाटो पिच गरेको हेर्न गाँउका हामी सवै केटाकेटिहरु वरिपरि जम्मा हुन्थ्यौ । बाबाहरुले हामीलाई त्यता नजाओ भनेर रोक्नुहुन्थ्यो ।
वर्खा लागेको वेला नजिकैको खेतमा माछाहरु आँउथे । हामी वल्छि ल्याएर माछा मार्थ्यौ । बाबामामुले कराउनुहुन्थ्यो तर हामी मान्दैन थिँयौ । मार्न गईहाल्थ्यौ । त्यसलाई घर ल्याउन भने पाँउदैन थिँयौ । हामीले मारेको पनि अर्कैलाई दिन्थ्यौ । लोभ लाग्दैन थियो ।
देशवाट राजा हटेपछि यता पनि आन्दोलन भयो । पहिलोपटक मैले मधेशी र पहाडे भन्ने शव्दहरु सुने । विगत २७ वर्षदेखि वसिरहेको ठाँउ छोडेर हामी कतै गएनौ । हाम्रो वरपरका धेरै पहाडे अंकल आन्टिहरु भने त्यो ठाँउ छोडेर जानुभयो । हामीलाई के ले रोकेको थियो थाहा छैन ।
त्यसपछि विस्तारै फेरी सहज भएको थियो । दुईपटक संविधानशभाको चुनाव भयो । हाम्रो गाँउमा पनि व्यापक चुनाव लाग्यो । पहिलो मा हाल्न नपाए पनि दोस्रो मा मैले पनि भोट हालेँ । देशमा सवैथोक ठिक हुन्छ भन्ने कस्तो आशा लागेको थियो ।
तर त्यो सपना पुरा हुन पाएन । दोस्रो संविधानशभाले संविधान जारी गर्नु अगाडी नै मधेश आन्दोलन फेरी चर्कियो । संविधान जारी भएको दिन हामीले घरमा लुकेर वस्नु पर्यो । पहिला कहिल्यै नभएको बाबाको वाईकमा पनि ढुंगा हानियो । हामी आफ्नै घरमा असुरक्षित भयौ । दिदीलाई ढुंगाले लागेर चारदिन अस्पतालमानै राख्नुपर्यो ।

[caption id="attachment_17755" align="aligncenter" width="640"]? घर सर्दै गर्दा ज्वाला दाहाल[/caption]

साँझ पर्नासाथ झडप हुन थालेको सुनिन थाल्यो । प्रहरीले गरेको हवाई फायर सुनेर रातभर निन्द्रा लागेन ।
"अव घर छोड्नुपर्छ ।" बाबाले एकदिन मलिन स्वरमा भन्नुभयो । हामी केहिपनि वोलेनै ।
"कहाँ जाने? के गर्ने?" आमाले केहिपनि सोच्न सक्नुभएकै थिएन ।
"कुनै उपाय लगाउनुपर्ला । अलिक वढि पहाडे वस्ति भएको तिर सर्नुपर्ला । घरमै पनि अशुरक्षित भईयो ।" बाबाको स्वर दबिएको थियो ।
त्यसको केहि समयपछि नै उहाँले पोखरियामा घर किनेको कुरा सुनाउनुभयो । पोखरिया नाम मलाई "यादव टोल" जस्तो मिठो लागेन ।
अनि हामी घर सर्यौ। मन नलाग्दा नलाग्दै पनि सर्यौ ।
त्यहि बाटो हुँदै जुन बाटो हुँदै मैले कयौ यात्राहरु गरेको थिँए । म जाँदै थिँए त्यसदिन । नफर्किने गरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्