प्रेम देवान
विराटनगर । विराटनगर महानगरपालिका–१२ बखरीस्थित मलहनुवामा रहेको एउटा सानो सामुदायिक विद्यालय । २०५८ सालमा स्थापना भएको जनता बालकल्याण आधारभूत अहिले पनि संघर्षकै बीच आफ्नो अस्तित्व जोगाइरहेको छ । विद्यालयमा कागजमा ९५ जना विद्यार्थी अध्ययनरत छन, तर वास्तविक उपस्थितिको तस्वीर भने निकै फरक छ ।
बिहीबार बिहानदेखि लगातार पानी परिरहेको थियो । त्यही दिन आवर विराटनगरको टोली विद्यालय पुग्दा पूरै विद्यालय सुनसानजस्तै देखिन्थ्यो । कक्षाकोठामा जम्मा तीन जना मात्रै विद्यार्थी उपस्थित थिए । बालविकासका एक विद्यार्थी, कक्षा ३ का एक विद्यार्थी र कक्षा ४ की एक छात्रा मात्रै विद्यालयमा आएका थिए ।
विद्यालयकी प्रधानाध्यापक ईमा ओझाका अनुसार पानी परेको दिन विद्यार्थीहरू विद्यालय आउँदैनन् । “यहाँका अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर आय भएका परिवारका छन् । पानी परेपछि बाटो हिलाम्मे हुन्छ, उनीहरूसँग छाता वा रेनकोट पनि हुँदैन,” उनले भनिन् । विद्यालयको वास्तविक अवस्था बुझ्न टोली अर्को दिन शुक्रबार फेरि विद्यालय पुग्यो । अघिल्लो दिनभन्दा विद्यार्थी संख्या केही बढेको थियो, तर अझै पनि धेरै बालबालिका अनुपस्थित थिए । विद्यालय आउने विद्यार्थीहरूका अनुसार उनीहरूलाई घरबाट विद्यालय पुग्न २० मिनेटदेखि आधा घण्टासम्म लाग्छ । बाटो कच्ची र हिलाम्मे भएकाले वर्षायाममा विद्यालय आउन निकै कठिन हुने गरेको उनीहरूको भनाइ छ ।
सम्पन्न बस्तीको छेउमै रहे पनि विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका ऋषिदेव समुदायका छन् । आर्थिक अभावले गर्दा उनीहरूका परिवारले वर्षायामका लागि आवश्यक सामग्री जुटाउन सकिरहेका छैनन् । कतिपय बालबालिकाहरु पोशाक र चप्पलविनै हिलो बाटो हुँदै विद्यालय पुग्ने प्रयास गर्छन् ।
विद्यालयको भौतिक संरचना भने कमजोर छैन । पर्याप्त खेलमैदान, घेराबार, पिउनेपानीको व्यवस्था तथा विभिन्न संघसंस्थाको सहयोगमा निर्माण गरिएका संरचनाहरू विद्यालयमा देखिन्छन् । विद्यालयमा एक कार्यालय सहयोगीसहित ९ जना शिक्षिका कार्यरत छन् ।
तर विद्यालयले अर्को गम्भीर समस्या पनि झेलिरहेको छ — असुरक्षा । शिक्षिकाहरूका अनुसार रातिको समयमा केही उच्छृंखल व्यक्तिहरू विद्यालय परिसरमा प्रवेश गरेर गेटको ताला तोड्ने, कक्षाकोठाको ढोका फोड्ने, भित्र दिशापिसाब गर्ने तथा विद्यार्थीका लागि निर्माण गरिएका पिउनेपानीका धारासमेत तोडफोड गर्ने गरेका छन् । विद्यालयजस्तो पवित्र शिक्षास्थलमा हुने यस्ता गतिविधि केवल अनुशासनहीनता मात्रै होइन, समाजप्रतिको गैरजिम्मेवारी पनि हो । यस्ता व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्नु आवश्यक देखिन्छ, ताकि फेरि कसैले विद्यालयमाथि यस्तो व्यवहार गर्नुअघि सोच्न बाध्य होस् ।
यो रिपोर्ट केवल एउटा विद्यालयको कथा होइन । यो हाम्रो विद्यालय शिक्षाको यथार्थ चित्र हो । जहाँ सरकारको नीतिभन्दा बढी संघर्ष शिक्षक र विद्यार्थीले गरिरहेका छन् । हामीमध्ये धेरैले आफ्नो वा आफ्ना छोराछोरीको जन्मदिन होटल र रेष्टुरेन्टमा हजारौँ रुपैयाँ खर्च गरेर मनाउँछौँ । तर त्यही खर्चको सानो हिस्सा मात्रै पनि यस्ता विद्यालयका बालबालिकाका लागि छाता, रेनकोट, झोला वा शैक्षिक सामग्रीमा खर्च गर्न सकियो भने उनीहरूको जीवनमा ठूलो परिवर्तन आउन सक्छ ।
सरकार फेरिएको छ, नेतृत्व फेरिएको छ, तर सामुदायिक विद्यालयका धेरै समस्या उस्तै छन् । अब परिवर्तन भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने जिम्मेवारी सरकारको मात्रै होइन, समाजको पनि हो । परिवर्तन अरूबाट होइन, म र मेरो विद्यालयबाट सुरु हुनुपर्छ ।