जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले थाल्यो यात्रु मैत्री कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले थाल्यो यात्रु मैत्री कार्यक्रम

विराटनगर माघ १७

पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले यात्रु मैत्री कार्यक्रम संचालनमा ल्याएको छ । सार्वजनिक सवारी साधनका चालक, सहचालक, यातायात मजदुर, यातायात व्यवसायी र यात्रु समेतलाई सहभागि गराएर विराटनगरमा ट्राफिक प्रहरीले नयाँ कार्यक्रम सुरु गरेको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीले बढ्दो सवारी चापसंगै चालकको लापरवाही बढ्दा यात्रुको सुरक्षामा चुनौती थपिएपछि त्यसलाई मध्यनजर गरेर कार्यक्रम संचालन गरिएको बताउनु भयो । उहाँका अनुसार यो कार्यक्रमबाट प्राप्त नतिजालाई आधार बनाएर ट्राफिक प्रहरीले आगामी दिनमा दुर्घटना न्यूनिकरण सम्बन्धी अन्य नयाँ रणनिती र कार्यक्रम तयार पार्ने छ । शिवाकोटीकै सक्रियतामा चालक, सहचालक, यातायात मजदुर र यातायात व्यवसायीलाई दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण समेत दिन थालिएको छ ।

विराटनगर बसपार्कमा  दिइएको प्रशिक्षणमा यातायात क्षेत्रमा काम गर्दै आएका ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । शिवाकोटीले चालकलाई सावधानी अपनाएर सवारी साधन चलाउन, तीब्र गतिमा सवारी साधन नहाँक्न, ढोका लगाएर मात्र सवारी साधन संचालन गर्न, ओभरटेक गर्दा ध्यान पुर्याउन, एम्बुलेन्स लगायतका अतिआवश्यकिय सवारी साधनलाई बाटो छाडिदिन र यात्रुको सुरक्षाका विषयमा विशेष ध्यान पुर्याउन आग्रह गरिएको बताउनु भयो । सार्वजनिक सवारी साधन भित्र यात्रु मैत्री वातावरण नहुने गरेको गुनासो आएसंगै ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्र बनाएर सवारी साधनमा यात्रुमाथि भइरहेको व्यवहारका बारेमा जानकारी लिनपनि थालेको छ । प्रनि शिवाकोटीले बस भित्रै गएर यात्रुहरुलाई चालक र बसका कर्मचारीले कस्तो व्यवहार गर्ने गरेका छन् भन्ने विषयमा जानकारी लिन थालिएको बताउनु भयो । ठाउँ ठाउँमा ट्राफिक प्रहरी परिचालन गरेर यात्रु मैत्री व्यवहार नगर्ने सार्वजनिक सवारी साधनका कर्मचारीलाई सम्झाउने बुझाउने गरिएको जानकारी उहाँले दिनु भयो । यस्तै ट्राफिक प्रहरीले सवारी साधनका कर्मचारीले गलत व्यवहार गरेमा तत्काल सम्पर्क गरेर जानकारी दिनका लागि सजिलो होस भनेर मोवाइल नम्बर सहितको भिजिटिङ कार्ड यात्रुहरुलाई उपलब्ध गराउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्