विराटनगर फाल्गुन १०
एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २२औं महाधिवेशनबाट नवीना लामाको प्यानलै विजयी भएको छ । प्रतिद्धन्द्धी दिपक गौतमलाई भारी मत अन्तरले पछाडी पार्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भइन् ।
उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भए । उनीहरु सबै पार्टी अध्यक्ष केपी शर्मा ओली अर्थात संस्थापन पक्ष निकटका हुन् । उपाध्यक्ष विजयी हुने बर्तौला ७८६, आचार्य ७४२, लामा ६८२ र बरालले ७२१ मत पाए । यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए । उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। महासचिवमा निर्वाचित ऐन महरले ८३१ मत प्राप्त पाए भने, हुसेनले ६६० मत प्राप्त गरे ।
सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भए । तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूहका हुन् । कोषाध्यक्षमा पनि नवीना समूहकै झपिन्द्र खत्री निर्वाचित भए ।
अनेरास्ववियूमा विराटनगरका तीन जना युवा केन्द्रीय नेतृत्वमा चयन भएका छन् । अनेरास्ववियूको उपाध्यक्षमा सुनिता बराल, सचिवमा वसिम आलम र सचिवालय सदस्यमा भाष्कर खनाल निर्वाचित भएका हुन ।