जन्ती बस दुर्घटनाः चारको मृत्यु, २६ घाइते

जन्ती बस दुर्घटनाः चारको मृत्यु, २६ घाइते

बर्दिया, २३ फागुन । बर्दियामा जन्ती बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । बर्दियाको धधवार–७ औरीजुट्टाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे१ख ८५४ नंको बस बेहुली लिएर फर्कंदै गर्दा गएराति १० बजे बबई नगरपालिका–६ सैनवारको जम्ती खोला पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुर्घटनामा धधवार–७ दुध्धाका १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए । उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।
बसमा सवार ३० जनामध्ये घाइते २६ जनालाई भुरीगाउँमा प्राथमिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । ज्यान गुमाएका र घाइते भएकाहरु बसको छतमा बसेका प्रहरीले जनाएको छ । बस र बस चालक २४ वर्षीय नारायण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
बसमा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेहुला र बेहुली अर्को जिपमा भएकाले उनीहरु सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्