नेतृत्वका लागि काँग्रेस महाधिवेशनमा मतदान सुरु

नेतृत्वका लागि काँग्रेस महाधिवेशनमा मतदान सुरु

काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि निर्धारित समयअनुसार अहिले बिहान ८ बजेदेखि मतदान गर्न मतदाता लामबद्ध भएर बसेका छन् ।

राजधानीको राष्ट्रिय सभागृहमा हुन लागेको उक्त निर्वाचनमा तीन पदाधिकारीसहित ६१ सदस्यका लागि ३१२ जनाले प्रतिस्पर्धा गर्न लागेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे जानकारी दिए ।

फागुन २० र २१ गते भएको मनोनयन दर्तामा पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा ३७५ जनाले उम्मेदवारी दर्ता गराएकामा ६३ जना केन्द्रीय सदस्य पदका उम्मेदवारले मनोनयन फिर्ता लिएका थिए ।

समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापति, महामन्त्री र कोषाध्यक्ष पदका १० जना उम्मेदवारमध्ये कसैले पनि नाम फिर्ता लिएका छैनन् ।

सभापतिमा कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले समूहसहित प्रतिस्पर्धा गर्दै छन् । तीनै समूहबाट महामन्त्रीमा डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सिराहा काँग्रेसका निवर्तमान अध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री उमाकान्त चौधरी र नेता कृष्ण कार्कीले प्रतिस्पर्धा गर्दैछन् । पदाधिकारीका सबै प्रतिस्पर्धी समूहगत रुपमा चुनावी मैदानमा उत्रिएका हुन् भने कार्की समूह बिनाएक्लै प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यसैगरी खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ छजना महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रदेश नं १ मा दुई केन्द्रीय सदस्य पदका लागि १३, प्रदेश नं २ मा दुई पदका लागि पाँच, प्रदेश नं ३ मा दुई पदका लागि १८, प्रदेश नं ४ मा दुई पदका लागि नौ, प्रदेश नं ५ मा दुई पदका लागि १०, प्रदेश नं ६ मा दुई पदका लागि पाँच र प्रदेश नं ७ मा दुई पदका लागि सातजनाको उम्मेदवारी कायम भएको समितिले जनाएको छ ।

आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्य पदका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि १२, दलित तीन पदका लागि २०, दलित महिलातर्फ दुई पदका लागि पाँच, मधेसी आरक्षणतर्फ तीन पदका लागि १५, मधेसी महिला दुुई पदका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छजनाको उम्मेदवारी कायम भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्