चितवन, २३ फागुन । अवैध रुपमा काठमाडौँतर्फ डिजेल लैजान लागेको भन्दै एकीकृत नेकपा माओवादी निकट वाइसिएल चितवनले आज बिहान भरतपुरको आँपटारी नजिकैबाट करिब ११ हजार लिटर डिजेलसहितको ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।
भरतपुर उपमहानगरपालिका वडा नं १ आँपटारी र रामनगरको बीचभागमा ना४ख ५५९४ नंको मिनीट्रकमा ४७ वटा ड्रममा डिजेल राखेर काठमाडौँतर्फ लैजाँदै गर्दा वाइसिएलले रोकेर प्रहरीलाई बुझाएको हो । वाइसिएलका ३ नं प्रदेशका सहइन्चार्ज ईश्वर सापकोटाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक निर्मल थापालाई ट्रकसहित अनुसन्धानका लागि भन्दै डिजेल बुझाएको हो ।
सो डिजेल काठमाडौँका एक व्यापारीले बर्दघाटबाट ल्याएको बुझिएको छ । प्रहरी निरीक्षक थापाले यसको विस्तृत अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए । तीन दिनको सूचना जारी गरी सम्बन्धित धनी आएमा बिल भर्पाइ भए सोझै लैजान पाउने र नभए प्रचलित मूल्य राजस्वमा दाखिला गरेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने बताए ।
यसअघि प्रहरीले चितवनका विभिन्न क्षेत्रबाट झन्डै २२ हजार लिटर अवैध डिजेल नियन्त्रणमा लिएर राजस्व दाखिला गर्न लगाएको थियो ।