विराटनगर–किमाथांका सडक दुई वर्षभित्रै : डा. खतिवडा

विराटनगर–किमाथांका सडक दुई वर्षभित्रै : डा. खतिवडा

विराटनगर, २५ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले विराटनगर–किमाथांका सडक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मोरङ व्यापार संघले मंगलबार विराटनगरमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले भारत र चीनलाई जोड्ने किमाथांका सडक दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य सुनाउनुभयो । उपाध्यक्ष खतिवडाले भारत र चीनलाई जोड्ने तीनवटा सडकमध्ये विराटनगर–किमाथांका सडक सरकारको प्राथमिकताको पनि प्राथमिकतामा रहेको जानकारी दिनुभयो । विराटनगरबाट किमाथांकासम्म पुग्ने ३ सय ७६ किलोमिटर सडकमध्ये संखुवासभा क्षेत्रमा अझै ६८ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ । यो सडक निर्माण भए भारत र चीनको व्यापारिक केन्द्र पूर्व बन्ने उद्योगीहरूको भनाइ छ । विराटनगर–जोगबनी सडक निर्माण भएर भारत र चीनलाई सडक मार्गमार्फत जोड्न सकिए पूर्वको उद्योग, पर्यटनसहित अन्य आर्थिक गतिविधि बढ्ने संघका अध्यक्ष पवन सारडाले बताउनुभयो । संघका सल्लाहकार अविनाश बोहराले निर्यातजन्य उद्योग स्थापना र सामग्रीको उत्थानका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले देशकै सबैभन्दा पुरानो औद्योगिक नगरी विराटनगरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न माग गर्नुभयो । निर्यात बढाउन हरेक जिल्लामा एउटा विशेष आर्थिक क्षेत्र घोषणा गर्नुपर्नेमा उहाँको सुझाव थियो । उद्योगी ताराचन्द खेतान, बेनिगोपाल मुन्दडालगायतले उद्योगमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्