काठमाडौं, ३ चैत ।
काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बुधबार बिहान तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु भएको हो । पञ्चाङ्ग निर्णायक समितिले निकालेको ७ बजेर ४७ मिनेटको शुभसाइतमा धालासिक्व मानन्धर सनाः गु खल गुठीका मानन्धरहरुले चीर ठड्याएका हुन् । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीनतले चीर ठड्याएपछि मुलुकभर होलीको माहोल सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म आठ दिन होली पर्व मनाउने गरिन्छ । भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्युको विजयउत्सवका रुपमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिकग्रन्थमा उल्लेख छ । फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतीक चीर टुंडिखेलमा लगेर जलाएपछि होली पर्व सकिने मान्यता रहेको छ ।