बालिका बलात्कार गर्नेलाई बीस वर्ष जेल

बालिका बलात्कार गर्नेलाई बीस वर्ष जेल

सुर्खेत-जिल्ला अदालत, सुर्खेतले दुई नाबालिका बलात्कारमा एक व्यक्तिलाई २० वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले आइतबार भेरीगंगा नगरपालिकाका दुई बालिकालाई बलात्कार गर्ने २९ वर्षीय वीरबहादुर टमटा (सुनार) लाई २० वर्ष ६ महिना कैदसहित लाख रुपैयाँ जरिवाना फैसला सुनाएको हो ।टमटा भेरीगंगा–९ हर्रेका हुन् ।

'सात वर्षीया बालिका बलात्कारमा १० वर्ष र ६ वर्षीया बालिका बलात्कारमा १० वर्ष ६ महिना कैद फैसला भएको छ,' श्रेस्तेदार वीरेन्द्र मल्लले भने, 'पीडित दुवैलाई ५०–५० हजार क्षतिपूर्ति दिलाउने फैसला पनि भएको छ ।'

गएको साउन १ गते मदिरासेवन गरेर टमटाले ६ र ७ वर्षका दुई बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले साउन २४ गते टमटालाई पक्राउ गरेर भदौ २ गते जिल्ला अदालतमा पेस गरेको थियो ।

प्रहरीका अनुसार टमटाले अभिभावक रोपाइँ गर्न गएको मौका छोपेर अभियुक्तले घरमै गई चाउचाउ दिने भन्दै फकाएर दुवैलाई बलात्कार गरेका थिए । बालिका चिच्याउन थालेपछि उनले दुवैको मुख कपडाले थिचेका थिए । घटनाबारे आफन्तले पाँच दिनपछि मात्र थाहा पाएका थिए ।

'अस्वाभाविक गतिविधि गर्ने, नियमित बिरामी पर्ने गरेपछि औषधि गराउन अस्पताल लैजाँदा उनीहरुले आफूहरुमाथि भएको अन्यायबारे बताएका थिए,' ६ वर्षीया बालिकाकी आमाले भनिन्, 'हामीले तत्कालै प्रहरीमा उजुरी दियौं ।' प्रहरीका अनुसार अभियुक्त टमटाले घटनाबारे कसैलाई भने स्कुलबाट फर्किने बेला जंगलमै हत्या गर्ने चेतावनी दिएका थिए । घटनापछि फरार रहेका टमटालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्