मझारे गाविसस्थित लोहन्द्रा खोलामा सात करोडको लगानीमा पुल निर्माण

मझारे गाविसस्थित लोहन्द्रा खोलामा सात करोडको लगानीमा पुल निर्माण

बिनु तिम्सिना

बिराटनगर चैत्र २३,
मोरङको मझारे गाविसस्थित लोहन्द्रा खोलामा सात करोडको लगानीमा पुल निर्माणको कार्य भइरहेको छ । पुल नहँुदा लामो समयदेखि समस्या झेल्दै आएका यहाँका बासिन्दा पुल निर्माण हुने भएपछि हर्षित बनेका छन् ।
मोरङको मझारे गाविसस्थित लोहन्द्रा खोलामा पक्की पुल निर्माण हुने भएपछि यो क्षेत्रका आधा दर्जनभन्दा बढी गाविसका स्थानीय तथा कृषकहरु हर्षित बनेका छन् । खोलामा पक्की पुल नहुँदा स्थानीयले निकै सास्ती व्यहोर्नुपरेको थियो । वर्षामा उनीहरु २७ किलोमिटर भारतीय भूमिको घुमाउरो सडक प्रयोग गरेर विराटनगर आउन बाध्य थिए । हिउँदमा बाँसको कच्ची पुल बनाएर खोला तर्ने गरेको भएपनि बर्खामा थप समस्या हुने गरेको स्थानीय शम्भु मण्डलको भनाइ छ ।
पक्की पुल नहँुदा आफूहरुले उत्पादन गरेका कृषि उपजसमेत बजारसम्म ल्याउन नसकेको कृषकहरुको गुनासो छ । लामो समयपछि पक्की पुल निर्माण हुने भएपछि कृषकहरुसमेत हर्षित बनेका छन् । पुलले एकै गाविसका बासिन्दाबीचको सम्बन्ध टाढा भएको र दैनिक जीवनयापनमा समेत समस्या भएका कारण पुल आवश्यक भएको सांसद अमृत अर्यालले बताउनुहुन्छ । संविधानसभाको विर्नाचन अघि नै पुल निर्माण गर्ने आश्वासन दिनुभएका अर्यालकै पहलमा यस खोलामा हाल धमाधम पुल निर्माणको कार्य भइरहेको छ । आगामि दिनमा पनि यस क्षेत्रको उन्नती र प्रगतिका लागि आफू लागिपर्ने उहाँ बताउनुहुन्छ । पूर्ण रुपमा नेपाल सरकारको लगानी रहेको यो पुलले मझारे गाविसको बार्ड नम्बर ८ र ९ जोड्नेछ । साथै पुलले मझारे गाविसका साथसाथै बुधनगर, भाथिगछ, सिसवनीजहदा, पोखरिया, नोचा, कटारीलगायतका आधा दर्जनभन्दा बढी गाविसका एक लाख बढी स्थानीय लाभान्वित हुने छन् । जिल्ला प्राविधिक कार्यालयका प्रमुुख इन्जिनियर समरबहादुर खनालले कुल ७ करोड २० लाखको लगानीमा २०७४ साल माघ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको जानकारी दिनुभयो । ६१ दशमलव ५ मिटर लम्बाइ र पाँच दशमलव ४५ मिटर चौडाइ भएको पुल निर्माण गरिने उहाँले जानकारी दिनुभयो । खोलाले धार परिवर्तन गरेपछि वर्षौंदेखि पीडामा रहेका जनतालाई पुल बनेपछि राहत मिल्नेछ । खोलामा पुल निर्माण भएपछि खोला वारि–पारि गर्न नाउँ प्रयोग गर्नुपर्ने स्थानीयको झन्झटसमेत अन्त्य हुनेछ । पुलको शिलान्यास भएर मात्रै हुँदैन, समयमै सम्पन्न गर्नका लागि स्थानीयबासीको समेत सहयोग आवश्यक रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्