बोक्सो आरोपमा एकजनाको हत्या

<span class='c1'>बोक्सो आरोपमा</span> <span class='c2'>एकजनाको हत्या</span>

रसुवा-जिल्लाको यार्सामा बोक्सो आरोपमा एकजनाको हत्या गरिएको छ। यार्सा ९ घोर्मुका ५५ वर्षीय तुलु सार्की थिङलाई बोक्सोको आरोपमा जिउँदै खाल्डोमा हाली आगो लगाएर हत्या गरिएको प्रहरीले जनाएको छ। तुलुलाई मारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, रसुवाले तीनजनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार घटना वैशाख ४ गतेको हो । स्थानीय गाउँ समाज सबै मिलेर त्यस दिन तुलुलाई कान्छा शेर्पा थिङको घरमा बोलाएका थिए । त्यहाँ उनलाई बोक्सोको आरोप लगाउँदै रक्सी पिलाएर मरणासन्न हुनेगरी कुटपिट गरियो । उनलाई जिउँदै खाडलमा हालेर मुखमा आगो लगाइयो र ढुंगामाटोले किचेर मारियो । यही अभियोगमा तीनजनालाई समातेर अनुसन्धान भइरहेको रसुवाका प्रहरी नायब उपरीक्षक अबदेश विष्टले बताए । विष्टका अनुसार प्रारम्भिक अनुसन्धानमा हत्यामा यी तीनजनाको संलग्नता बढी देखिएको पाइएको छ । अनुसन्धान अघि बढाउँदै जाँदा अन्य पनि पक्राउ पर्न सक्छन्।

श्रीमानको बोक्सोको आरोप लगाएर हत्या गरिएको भन्दै यो याल्मो तामाङले दिएको उजुरी आधारमा प्रहरीले तीन जनालाई यार्साबाट पक्राउ गरेको हो । गत चैत ४ गते २७ वर्षीय साङ्बो तामाङको अस्पतालमा उपचारक्रममा निधन भएको थियो । साङ्बोको मृत्यु तुलु सार्कीले भेदेर भएको भन्दै स्थानीयले चैत ५ गते उनलाई मानव मलमुत्र खुवाएर कुटपिट गर्दै मोसो र जुत्ताको माला लगाइदिएर गाउँबाट लखेटेका थिए । गाउँमा बस्न नसक्ने भएपछि तुलु, श्रीमती याल्मो र एक छोरी र एक छोरा गोठमा गएर बसेको एक स्थानीयले बताए । उनी ज्यान बचाउन केरुङ पुगेर बसेका थिए । तुलु केरुङ गएको भन्ने थाहा पाएपछि भतिज कान्छा शेर्पा थिङले गाउँमा आउँदा केही नहुने भनेर बोलाएको स्वीकारे ।

पत्रकार सम्मेलनमा कान्छाले काका तुलुलाई गाउँंमा बोलाएको र वैशाख ४ गते रक्सी पिलाएर कुटपिट गर्दै पहिला नै खनिराखेको खाल्डोमा हालेर मारेको बयान दिएको प्रहरीले बतायो । प्रहरीका अनुसार १५ दिनअघि घटना भए पनि गुपचुप राखिएकाले ढिला थाहा भएको हो । प्रहरी नायब उपरीक्षक अबदेश विष्टका अनुसार जिल्लामा यो घटना अहिलेसम्मको जघन्य हो।

यार्साका ९ का नुर्वु तामाङका अनुसार गत वर्ष सोही गाउँका नेमाकैसाङको मृत्यु भएको थियो । नेमाकैसाङको गाडिएको शवबाट हड्डी ल्याएर तुलुले टुनामुना गरी चैत ४ गते साङ्बो तामाङको करेसाबारीमा गाडेको आरोप लगाउँदै स्थानीयले कुटपिट गरेका थिए । नेमाकैसाङलाई पनि तुलुले टुनामुना गरी मारेको आरोप गाउँलेले लगाएका थिए । 'त्यतिबेला उस (तुलु) को पक्षमा बोल्न पाइँदैन्थ्यो, बोले पिट्न आउँथे,' उनले भने, 'गाउँलेले तिरस्कार गरेपछि बस्न नसकेर तुलु केरुङ गएका थिए ।' उनका अनुसार चैत ५ गते कालोमोसो लगाएर गाउँबाट खेद्दा भोर्ले ३ का स्थानीय पनि सहभागी भएका थिए ।

तुलुको हत्यापछि पत्नी याल्मोलाई घटनाबारे कतै भने गाउँ बस्न नदिने धम्की दिइएकाले ढिला गरी यो घटना बाहिर आएको हो । पछि उनले आँट गरी प्रहरीमा उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

तुलुको शव खाडलबाट निकालेर पोष्टमार्टमका लागि त्रिवि, शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं पठाएएको जानकारी प्रहरीले गराएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो।

-नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्