ओली सरकारले निरन्तरता पाउने

ओली सरकारले निरन्तरता पाउने

काठमाडौं, जेठ २४ – प्रधानमन्त्री हुने लाइनमा रहेका भनेर चर्चामा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार परिवर्तनभन्दा राष्ट्रिय सहमतिमा जोड दिनुभएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेलगत्तै काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले राष्ट्रिय सहमतिको सरकार बनेमा मात्र सरकार परिवर्तन हुने नत्र यही सरकारले निरन्तरता पाउने बताउनुभएको हो ।

यसअघि भाषण गर्दा एमालेसँग भएको ‘भद्र सहमति’ कार्यान्वयनमा जोड दिंदै आएका प्रचण्डले आइतबार सरकार परिवर्तन भन्दा राष्ट्रिय एकतामा जोड दिनुभयो । ‘राष्ट्रिय एकता नहुँदासम्म संविधान कार्यान्वयन हुँदैन’ प्रचण्डले भन्नुभयो, ‘पुनर्निर्माण अभियानलाई अघि बढाउन र मधेसमा उत्पन्न समस्या समाधानको लागि राष्ट्रिय एकताको खाँचो छ ।’

प्रचण्डको पछिल्लो अभिव्यक्तिबाट उहाँ अहिलेकै अवस्थामा सरकारको नेतृत्व लिन इच्छुक हुनुहुन्न भन्ने बुझिन्छ । प्रचण्डले जस्तै कांग्रेस र एमालेका अरु नेताहरुले पनि राष्ट्रिय सहमतिको सरकारमा जोड दिंदै आएका छन् । एमालेको स्थायी समिति बैठकले नै सहमतिको सरकार बन्ने अवस्थामा सरकार परिवर्तनको बाटो खुला राख्ने निर्णय गरिसकेको छ ।

त्यसो त संविधान बन्नुभन्दा पहिलेदेखि नै दलहरुले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिंदै आएका छन् । संविधान बनिसकेपछि त झन् सहमतीय सरकार बनाउन नेताहरुले निकै प्रयास गरे । संविधान बनाउनेबेला कांग्रेस, एमाले र एमाओवादीबीच नै सहमतीय सरकार बनाउने भद्र सहमति भएको थियो ।

तर एमालेको नेतृत्वमा गठन हुने भनिएको यस्तो सरकार बनाउन कांग्रेस पछि हट्यो । कांग्रेसले समेत प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि सहमतीय सरकार बन्न सकेन । फेरि पनि प्रचण्ड लगायतका नेताहरुले सहमतीय सरकार गठन हुनुपर्छ भन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्