इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालको कार्यकक्षमा तोडफोड

इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालको कार्यकक्षमा तोडफोड

इटहरी असार २ ,  इटहरी–८ मा ट्याङ्ग्राहा खोला सफा गर्ने क्रममा आफन्तको जग्गामा लगाइएको पर्खाल भत्काएको भन्दै धरानका चार युवाले बुधबार इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालको कार्यकक्षमा तोडफोड गरेका छन् ।
बुधबार अपराह्न पौने ५ बजे वरिष्ठ इन्जिनियरको कार्यकक्षमा प्रवेश गरी ती युवाको समूहले गालीगलौज गर्दै टेबलमा रहेको शिशा फुटाएको इन्जिनियर दाहालले बताए । तोडफोडपछि इलाका प्रहरी कार्यालयलाई खबर गरिएको थियो । नगर प्रहरी र कार्यालयकै कर्मचारीका सहयोगमा इटहरी प्रहरीले ती युवालाई नियन्त्रणमा लिएको छ । इटहरीका डीएसपी ओमप्रसाद अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा धरान–७ का पवन श्रेष्ठ र नवीन श्रेष्ठ तथा मोरङको डाँगीहाटका छत्र लिम्बू छन् ।

कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै उनीहरुले गालीगलौज गर्न थालेको इन्जिनियर दाहालले बताए । उनले भने, ‘के भएको हो, बुझौँ, छलफल गरौँ भन्दै गर्दा मेरो कुरा नसुनी टेबलको शिशा फुटाए ।’ तोडफोड शुरु गर्नेबित्तिकै अरु कर्मचारी आएकाले हातपात गर्न नपाएको पनि उनले बताए । प्रत्यक्षदर्शीका अनुसार उनीहरु तोडफोड गरी भाग्न खोजे पनि तत्काल नगर प्रहरी आएकाले भाग्न पाएनन् । वर्षात्मा इटहरीमा हुने डुबान कम गर्न उपमहागनरपालिकाले ट्याङ्ग्राहा खोला सफा गर्न थालेको छ । खोला सफा गर्ने क्रममा इटहरी–८ स्थित काली मन्दिरछेउमा रहेको जग्गामा लगाइएको पर्खाल भत्काएको भन्दै उनीहरुले इन्जिनियरमाथि दुव्र्यवहार गरेका हुन् ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृतले उनीहरुमाथि कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएको जनाए । डीएसपी अधिकारीले पनि दोषीमाथि सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको जनाए ।
यसैबीच, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इटहरी उपमहानगर इकाइका अध्यक्ष अर्जुन सुवेदी र सचिव प्रोक्षण पोखरेलले विज्ञप्ति जारी गरी वरिष्ठ इन्जिनियर दाहालको कार्यकक्षमा तोडफोड गर्ने समूहमाथि कारवाही गर्न माग गरेका छन् । उनीहरुले दोषीमाथि कारवाही गरी कर्मचारीको सुरक्षा र समग्र कार्यालयमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरेका छन् । विज्ञप्तिमा यस्तो अशान्त अवस्थामा कार्यालय सञ्चालनका लागि सहयोग गर्न राजनैतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई आग्रहसमेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्