बिरामीको पेटमा प्लाष्टिकको टुक्रा

बिरामीको पेटमा प्लाष्टिकको टुक्रा

विराटनगर, २२ असार । विराटनगरस्थित गोल्डेन हस्पिटलले लापरबाही गर्दा इटहरी–५ सुनसरीका लक्ष्मीप्रसाद चौधरी (५५) को तीन पटक पेटको शल्यक्रिया गर्नुपरेको छ । सामान्य पेट दुखेपछि अस्पताल भर्ना भएका चौधरीलाई अल्सर भएको भन्दै हस्पिटलले पहिलो पटक गत फागुन १० गते शल्यक्रिया गरेको थियो । शल्यक्रियाको क्रममा चौधरीको पेटमा प्लास्टिकको धागो छुटेपछि उनको रोग निको हुनुभन्दा घाउ पाकेर झनै समस्याग्रस्त भए ।
चौधरीको शल्यक्रिया डा.सरोज चौधरीले गरेका हुन् । घाउ पाक्ने समस्याले पीडित बनेका चौधरीलाई परिवारले पुनः गोल्डेन हस्पिटल भर्ना गर्दा डाक्टरले बाथको बिरामी भन्दै औषधि चलाएका थिए । पेटमा धागो छोडिएर बिरामी परेका उनलाई उक्त औषधिले बिसेक हुनुभन्दा अझै समस्या भयो । पुनः भिडियो एक्सरे गरेर हेर्दा उनको पेटको आन्द्रामा धर्सा देखियो ।
डाक्टरहरुले प्राविधिक सामान भित्र छोडेको कारण त्यसलाई निकाल्न पुनः शल्यक्रिया गर्नुपर्ने भन्दै आफन्त र बिरामीलाई भनेपछि चौधरीको पुनः वैशाख २९ गते शल्यक्रिया गरियो र पेटबाट झन्डै १० एमएम लामो प्लास्टिकको धागो निकालियो । शल्यक्रियामा डाक्टर श्यामकुमार रौनियारको संलग्ता रहेको बिरामीका आफन्तको दाबी छ ।
त्यसबीचमा चौधरीले इटहरीबाट विराटनगरको गोल्डेन हस्पिटल ५÷७ पटक धाउनु परेको थियो । तर, पनि रोग निको भएन । ‘दुई पटकको अपरेसन चार्ज र औषधीसहित ७० हजार रुपैयाँभन्दा बढी खर्च भयो,’ चौधरीकी छोरी वविता चौधरीले भनिन्, ‘तर पनि रोग निको भएन ।’
दुई पटकको अपरेसनपछि पनि समस्या झन् बल्झिएपछि बुबालाई पुनः विराटनगरकै श्री हस्पिटलमा भर्ना गरिएको थियो । ‘श्री हस्पिटलले रोगको पहिचान गर्न नसकेपछि विराटनगर अस्पतालमा ल्याब टेष्ट गर्दा पेटमा अझै प्लास्टिकको धागो गरेको खुलासा भयो’– छोरी वविताले भनिन् । तेस्रो पटक अपरेसन गरेर पेटको धागो निकालियो ।
एक हप्ताअघि शल्यक्रिया गरेर डिस्चार्ज लिएको बताउँदै बबिताले भनिन्, ‘अब त बाबालाई निको होला कि भन्ने आशा छ, तर पहिलेको जस्तै पेटमा पुनः धागोको टुक्रा छ कि भनेर चिन्ता पनि लागिरहेको छ ।’ इटहरीस्थित सडक विभागका खरदार सरह जागिर खाँदै आएका चौधरीलाई केही भए परिवारकै बिचल्ली हुने आफन्तको दुःखेसो छ ।
पेशाले हेल्थ असिस्टेन (एचए) वविताले उपचारमा लापरबाही भएकोबारे डाक्टरसँग केरकार गर्दा ‘मोटो मान्छे भएको भए बोसोले धागो गलाइदिन्थ्यो तर पालतो भएकोले त्यस्तो भयो’ भनेर जवाफ दिएको दाबी गरिन् । ‘अपरेसन गर्दा पेटभित्र लगाउने धागो, अर्कै हुन्छ तर, डाक्टरहरुले लापरबाही गरेर प्लास्टिकको कडा धागो पेटमा राखेको देखियो,’ उनको भनाइ छ ।
यता गोल्डेन हस्पिटलका जनसम्पर्क अधिकृत सनातन मण्डलले यसखाले शल्यक्रिया गर्दा धागो राख्नु पर्ने भएकै कारण राखेको बताए । ‘छातिभन्दा माथि नाइटोसम्म चिरेर पेट सफा गर्नुपर्ने र त्यसपछि सिलाइ गर्नुपर्ने भएका कारण धागो राख्नै पर्छ’, मण्डलले भने, ‘यो ठूलो अपरेसन हो, यस्तो खालको अपरेसन २ पटक ३ पटक मात्रै होइन ४ पटकसम्म पनि गर्नुपर्ने हुन्छ ।’
स्वास्थ्य मानिसको लागि १ पटक शल्यक्रिया गर्दा नै समस्या हल हुने दाबी गर्दै मण्डलले कमजोर स्वास्थ्य अवस्था भएका कारण घाउ निको नभएको र पुनः शल्यक्रिया गर्नुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्